सिनेसुत्र, बिराटनगर- वि.सं. २०८२ सालको पहिलो सुपरहिट सिनेमा बन्न सफल ‘ऊनको स्वीटर’ले चौथो हप्तासम्म आइपुग्दा पनि नेपाली बक्स अफिसमा धमाका मच्चाइरहेको छ। प्रदर्शनको तेस्रो हप्तामा नै १० करोडभन्दा बढी ग्रस कमाइ गरिसकेको यो सिनेमा न केवल व्यावसायिक रेकर्ड तोडिरहेको छ, बरु दर्शकहरूका मनमा पनि विशेष स्थान बनाएको छ।
यसै खुसीको अवसरमा सिनेमा युनिटले मङ्गलवार साँझ काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलमा सिनेमा हेरेका दर्शकहरूमाझ केक काटेर सेलिब्रेसन गरेको छ। सो अवसरमा प्रमुख कलाकार विपिन कार्की, एलेक्स पारस, परीक्षा लिम्बु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगर, गायक सुजन चापागाईँ, सङ्गीत निर्देशक कोविद बज्र, गीतकार हर्क साउद, छायाकार चिन्तन राजभण्डारी र निर्देशक नवीन चौहान लगायतको उपस्थिति थियो।
केकमा सिनेमाका पोस्टरहरू र चर्चित गीतहरूको झल्को दिने चित्रहरू राखिएको थियो। निर्देशक नवीन चौहानका अनुसार यो केक काट्ने कार्यक्रम कुनै प्रचारात्मक गतिविधि होइन, तर “दर्शकसँग खुसी साट्ने र धन्यवाद व्यक्त गर्ने प्रयास” हो। उनका अनुसार, ‘ऊनको स्वीटर’ले १० करोड क्लबमा प्रवेश गरेपछि गोलाप्रथामार्फत सिनेमा हल छानिएको थियो, जसमा एफक्युब हल परेकोले त्यहीँ कार्यक्रम आयोजना गरिएको हो।
सो अवसरमा हल करिब हाउसफुल थियो र दर्शकहरूको उत्साह चुलिएको देखिन्थ्यो। युनिटले सिनेमा सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको थियो। निर्देशक चौहानले भने, “हामीले कसैलाई भौतिक रूपमा तिर्ने कुरा केही छैन, तर दर्शकलाई माया तिर्नुपर्ने हो। यही माया साट्न केक काट्यौँ।”
यो सिनेमा हाल नेपालभरका १०० भन्दा बढी शो तथा अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप, मध्यपूर्वलगायतका देशहरूमा प्रदर्शन भइरहेको छ। सिनेमामा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतका कलाकारको अभिनय छ।
अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा कमाउन सफल यो सिनेमालाई फ्रेन्च निर्देशक एरिक भ्यालीले ‘नेपाली समाज र संस्कृतिको संवेदनशील प्रस्तुति’ भनेका छन्। यस्तै, मनीषा कोइरालादेखि बाबुराम भट्टराईसम्म, राजेश पायल राईदेखि विजय लामा र नाजिर हुसेनसम्मले फिल्मको खुलेर प्रशंसा गरेका छन्।
