सिनेसुत्र, बिराटनगर- यस वर्षको फूलपातीमा रिलिज हुने सिनेमा ‘महाराजधिराज’ मा अभिनेता गजित विष्ट अनुबन्धित भएका छन्। अभिनयमा आफ्नो राम्रो पकड भएका विष्टले यस सिनेमा मा जोडिन पाउँदा खुशी व्यक्त गरेका छन्। २० भन्दा बढी सिनेमा मा अभिनय गरि सकेका बिष्ट पछिल्लो समय लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ मा ‘जेठान’ को भूमिकाबाट चर्चामा छन् ।
‘मायाज बार’ नामक सिनेमा बाट अभिनयमा डेब्यु गरेका गजित विष्ट डेढ दशक देखि सिनेमा क्षेत्रमै सक्रिय छन। उनले ‘लभ यु बाबा’ र ‘हैरान’ जस्ता सिनेमा निर्माण समेत गरेका छन्। टेलिभिजन रियालिटी शोहरूको निर्देशनमा पनि अनुभव बटुलेका विष्ट अब ‘महाराजधिराज’ मा कस्तो भूमिकामा देखिन्छन् भन्ने कौतुहलता बढेको छ।
‘महाराजधिराज’ मा गजित विष्टको आगमनले कलाकारहरूको सूचीलाई अझ बलियो बनाएको छ। यसअघि नै आर्यन सिग्देल, रमेश उप्रेती, पल शाह, वर्षा राउत, वर्षा सिवाकोटी, जय किशन बस्नेत र पुष्प खड्का जस्ता स्थापित तथा नयाँ पुस्ताका कलाकारहरू यस सिनेमा मा अनुबन्धित भइसकेका छन्।
‘महाराजधिराज’ को निर्देशन परिच्छेद सेनले गर्दैछन्। यसअघि सेनले निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ ले राम्रो प्रतिक्रिया पाएको थियो। यस सिनेमा को कथा पनि निर्देशक सेनकै हो। छत्रेश्वर म्यानेजमेन्ट प्रालिको निर्माण रहने यो सिनेमा का प्रस्तुत कर्ता बिराज विष्ट हुन्, जसले यसअघि राष्ट्रिय अवार्ड विजेता सिनेमा ‘बुलाकी’ निर्माण गरेका थिए। टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का निर्माता हुन्।

