सिनेसुत्र, बिराटनगर- सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’ले पोस्टर सार्वजनिक गर्दै काउन्ट–डाउन सुरु गरेको छ। सय दिने काउन्ट–डाउन सुरु गर्दै निर्माण टिमले आज पोस्टर पनि सार्वजनिक गरेको छ। पोस्टरमा उल्लेख भएअनुसार अब यो सिनेमा रिलिज हुन ९९ दिन बाँकी छ। ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुँदैछ।
पोस्टर तराइको सेटअपमा छ। धानबारीको फाँट र छेउमा केराको बगानले तराईको सेटअप देखाउँछ। धानबारीमा एक युवकले सानी नानीलाई सरकारी स्कुलको पोसाकमा आफ्नो हातमा किताब र कपी च्यापेर बोकेर लैजाँदै गरेको देखिन्छ। उनीहरू दुवै मधेसी समुदायका छन्। सिनेमाको कथा बारे निर्माण टिमले केही जानकारी दिएको छैन।
सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’ अहिले पोस्टप्रोडक्सनमा छ। मुख्य भूमिकामा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौला छन्।
सिनेमाको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ। पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्ष सिनेमाको मुख्य कथा भएको बताइएको छ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन्। यो उनको डेब्यु निर्देशन हो। मुकेश खनालको लेखन रहेको सिनेमाको क्रिएटिभ निर्देशक मदन थापा हुन्। थापाले यसअघि सिनेमा ‘बाटो : रोड टु डेथ’ निर्देशन गरेका थिए।
‘अभिमन्यु : च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेका सिनेमाका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।
जीवन शाक्य लाइन प्रोड्यूसर रहेको यस सिनेमामा आकाश उखेडा मुख्य सहायक निर्देशक, मदन घिमिरे सम्पादक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक रहेका छन्। ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ।
यो सिनेमा विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ।

