सिनेसुत्र, बिराटनगर- आगामी शुक्रवारदेखि प्रदर्शनमा आउने सिनेमा ‘जन्ते बाख्रो’ को बुधवार साँझ सुनधारास्थित सिभिल मलको क्युएफएक्समा आयोजित प्रिमियरले सिनेकर्मी तथा सञ्चारकर्मीबाट सकारात्मक प्रतिक्रिया बटुलेको छ। प्रिमियरमा उपस्थित कलाकारहरूले सिनेमालाई मनोरञ्जनात्मक र पारिवारिक बताएका छन्।
अभिनेत्री वर्षा राउतले लामो समयपछि पर्दामा रमाइलो कथा देख्न पाएकोमा खुसी व्यक्त गरिन्। उनले भनिन्, “म धेरैपछि हलभित्र निकै हाँसेकी छु। आशिफ दाइ (आशिफ शाह) लाई पर्दामा यसअघिका फिल्मभन्दा भिन्न तरिकाले प्रस्तुत भएको देख्न पाउँदा निकै खुसी लाग्यो।”
वर्षाका साथै अभिनेता सन्जोग कोइरालाले पनि ‘जन्ते बाख्रो’ ले नयाँ पुस्तालाई परम्परासँगै मनोरञ्जन दिने बताए। उनले अभिनेता आशिफ शाहको ग्रामीण परिवेशमा उत्कृष्ट प्रस्तुति र सिनेमामा कैद गरिएका सुन्दर दृश्यहरूको प्रशंसा गर्दै भने, “यदि तपाईँलाई ट्रेलरले आकर्षित गरेको छ भने सिनेमा हेर्न आउनुस्, इन्जोय गर्नुहुने छ। ग्रामीण सुन्दरता, सामाजिक सद्भाव र परम्परा जोडिएको यो सिनेमाले हामीलाई पूर्ण मनोरञ्जन दिन्छ।”
अभिनेता तथा कमेडियन सन्दीप क्षेत्रीले निर्माण प्रक्रियामै पटकथाबारे जानकारी पाएको र पर्दामा यसको रमाइलो प्रस्तुति देखेर आफू प्रभावित भएको बताए। उनले सिनेमाले दर्शकलाई बाँधेर राख्न सफल भएको र निर्माता सन्तोष गौतमको आगमनलाई स्वागत गरे। “रमाइलो बनेको छ, म धेरै ठाउँ हाँसेको छु। सिनेमा हेरिरहँदा हामी प्रिमियरमा सहभागी सबैलाई होल्ड गर्न सफल भएको छ,” उनले थपे।
गायक महेश काफ्लेले सिनेमाको कथावस्तु सरर बगेको र यसले मानवमा देखिने सम्पूर्ण भावलाई समेटेको बताए। उनले भने, “यसको कथा सरर बगेको छ, हेरुन्जेल हाम्रो मुहारमा हाँसो ल्याउँछ। लाइट कमेडीले दर्शकलाई आनन्दित बनाउँछ। मैले इन्जोय गरेँ।”
सिनेमामा मुख्य भूमिकामा रहेकी अभिनेत्री गरिमा शर्माले प्रिमियरमा पाएका प्रतिक्रियाले आफूमा थप उत्साह बढेको बताइन्। “प्रिमियरमा सबै सिनेमा बुझेका मान्छे आउनु भएको छ। यहाँ हामीले रमाइलो सिनेमा बनेको, होल्ड भएको, कहीँ कतै बोर नलागेको प्रतिक्रिया पाएका छौँ। यो हाम्रो टिमका लागि उत्साहजनक प्रतिक्रिया हो,” गरिमाले भनिन्। पहिलो पटक कथाको मुख्य पात्रको रूपमा काम गर्दाको अनुभवबारे उनले भने, “पहिलो पटक सिनेमाको कथा नै बोकेको पात्रलाई निर्वाह गरेकी छु। सिनेमा मैले निर्वाह गरेको सम्झना पात्रकै वरिपरि घुम्छ।”
अभिनेता लोकेन्द्र लेखकले सिनेमा पूर्ण पारिवारिक र मनोरञ्जनात्मक रहेको भन्दै सबै परिवारलाई एकसाथ हलसम्म आउन आग्रह गरे।
लामो समयपछि पर्दामा देखिएका अभिनेता आशिफ शाहले दर्शक भएर हेर्दा सिनेमा इन्जोय गरेको प्रतिक्रिया दिए। उनले ग्रामीण सेटअपमा काम गर्दा नयाँ अनुभव बटुलेको र यो सिनेमामा हाँसो, रोदनसहित सबै कुराको मिश्रण रहेको बताए।
अभिनेता सौगात मल्लले पनि सिनेमा प्रदर्शनपछि दर्शकबाट आउने प्रतिक्रियाको प्रतीक्षामा रहेको बताए। “हामीले राम्रो काम गरेका छौँ भन्ने लागेको छ, प्रतिक्रिया त्यस्तै पाएको छु। अघिल्ला सिनेमाभन्दा यसमा म केही भिन्न देखिएँ जस्तो लागेको छ। दर्शकले रुचाउनु हुन्छ भन्नेमा आशावादी छु,” उनले भने।
निर्माता सन्तोष गौतमले आफूले सिनेमा निर्माणमा कुनै सम्झौता नगरेको र परिवारका सबै सदस्यले एकसाथ हेर्न मिल्ने गरी विषयवस्तु समेटिएको बताए। उनी दर्शकले सिनेमा रुचाउनेमा विश्वस्त छन्। ट्रेलर हेर्नुहोस :