‘जनै हराएको मान्छे’को ‘आमा’ गीत सार्वजनिक, आमाछोराको सम्बन्धले भिजायो मन

0 Shares

सिनेसुत्र, बिराटनगर-  आमा र छोराबीचको भावनात्मक सम्बन्धको कथा बोकेको सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को ‘आमा’ बोलको गीत सार्वजनिक भएको छ। यस गीतले सिनेमाको मुख्य भावलाई प्रस्ट पारेको छ।

सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द रचना, सङ्गीत र स्वर रहेको छ भने उनलाई गायिका मनीषा सुनारले साथ दिएकी छन्। गीतमा विभिन्न आरोह–अवरोह र लयमा उतारचढाव समायोजन गरिएको छ। गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, कविता आलेलगायतको अभिनय देख्न सकिन्छ।

यो गीतले सिनेमाको मुख्य कथालाई नै बोलेको छ। सिनेमाको मुख्य पात्रले घर छोडेर काठमाडौंमा सङ्घर्ष गर्दा र अनेक हन्डर ठक्कर खाँदाको पीडालाई गीतले मार्मिक ढङ्गले प्रस्तुत गरेको छ। आमाको ऋण तिर्न र उनको आँसु पुछ्न काठमाडौं पसेको छोराले सोचेजस्तो सहज र सरल नभएको सहरको यथार्थ चित्रण गीतमा छ।सिनेमाका एसोसिएट निर्देशक मनिष राउतका अनुसार यो गीत आफ्नो बाचाको सफलता कुरिरहेका सम्पूर्ण आमा र आमाको खुसी खोज्न सहर पसेका छोरा–छोरीका लागि समर्पित छ।

भदौ ६ गते रिलिज हुने यस सिनेमामा अभिनेता विजय बराल, अभिनेत्री केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली र भोलाराज सापकोटाको मुख्य भूमिका छ। यस्तै, रियर राई, कविता आले, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा, सृष्टि खड्की, निरु खड्का गौतम, सुवास सिंह ठकुरी लगायतको पनि अभिनय रहेको छ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको यस सिनेमाका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिम्सिना र चूडामणि सिवाकोटी रहेका छन्। सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। भिडियो हेर्नुहोस :

सम्बन्धित समाचारसबै