झापाको पाथीभरा मन्दिरमा सुशील र अञ्जनाको सिनेमा ‘परिवर्तन’को शुभ मुहूर्त

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा ‘परिवर्तन’को शुभ मुहूर्त झापा चारआलीस्थित पाथीभरा मन्दिरमा विशेष पूजा-अर्चनासहित सम्पन्न भएको छ । विजय केरुङले निर्देशक गर्ने यस सिनेमामा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । मुहूर्तसँगै सिनेमाको छायाङ्कन पनि सुरु भएको छ । सिनेमाको छायाङ्कन करिब ४० दिनसम्म पूर्वी नेपालका विभिन्न स्थानहरू झापा, विराटनगर र इलाममा गरिनेछ । निर्माण पक्षले यसै वर्षभित्र प्रदर्शनमा ल्याउने लक्ष्य लिएको छ ।

मुहूर्त समारोहमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीले पहिलो सट दिए । मुहूर्त सटको ‘एक्सन कट’ अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङले गरे भने नेपाली काँग्रेसका मेचीनगर सचिव मुकेश लिम्बुले ‘क्ल्याप’ हानेका थिए । यस अवसरमा कलाकारहरू सुशील श्रेष्ठ, अञ्जना बराइली, आशा पौडेल, सुवास मेचे, गौतम तिवारी, आयशा कार्कीका साथै निर्देशक विजय केरुङ र निर्माता दीपक सिवाकोटी लगायत सिनेमा युनिट उपस्थिति थियो । साथै, अन्य स्थानीय जनप्रतिनिधिहरू र समाजसेवीहरूको पनि उपस्थिति थियो ।दिब्यासी फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण हुने यस सिनेमाले नेपालको सिमाना सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको जालो, र गरिब, दुःखी तथा असहाय जनताको पीडादायी यथार्थलाई पनि उजागर गर्ने बताइएको छ ।

यस सिनेमाका निर्माता दीपक सिवाकोटीले नै यसको कथा लेखेका हुन् । सिनेमामा सुशील र अञ्जना सहित सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, यमनाथ खरेललगायत कलाकारहरूको अभिनय रहनेछ ।

सिनेमाको पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका छन् । छायाङ्कन निर्देशन शिव ढकालले, सम्पादन भूपेन्द्र अधिकारीले, द्वन्द्व निर्देशन श्री श्रेष्ठले, नृत्य निर्देशन कमल राईले तथा पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गर्नेछन् । निर्देशकको सहायकका रूपमा नवराज शर्मा रहनेछन् भने प्रोडक्सन हेड अरुण रेग्मी हुन् ।

‘परिवर्तन’ शीर्षकमा यसअघि पनि वि.सं. २०२८ सालमा सिनेमा निर्माण भएको थियो, जसको निर्देशन हिरा सिंह खत्रीले गरेका थिए । अब झन्डै पाँच दशकपछि पुनः यही नाममा अर्को सशक्त कथा लिएर नयाँ ‘परिवर्तन’ दर्शक माझ आउन लागेको हो ।

सम्बन्धित समाचारसबै