सिनेसुत्र, बिराटनगर- लेकाली इन्टरटेन्मेन्ट प्रा.लि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको सिनेमा ‘कल्ली’को फस्टलुक सार्वजनिक गरिएको छ। किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो सिनेमा अब फागुनको १ गतेबाट रिलिजमा आउने भएको छ। सिनेमाको सार्वजनिक दुई पोष्टरमा फागुन १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ।
महेश दवाडीको लेखन रहेको यो सिनेमामा लक्ष्मण सुनारको कथा र निर्देशन छ। सिनेमा ‘बुलाकी’ निर्देशन गरेपछि लक्ष्मण चर्चामा छन्। सामाजिक कथावस्तुका सिनेमा निर्देशनमा उनको नाम अहिले अगाडि आउँछ। यसैले, उनको निर्देशन रहेको ‘कल्ली’ पनि सामाजिक विषयवस्तुमा बलियो बनेको विश्लेषण गर्न सकिन्छ।
सार्वजनिक दुई पोस्टरमध्ये एक पोष्टरमा नायक सौगात मल्ल बाघसँग देखिएका छन्। रिसाहा अवतारमा देखिएको मल्लको हातमा भाला छ। भालामा रगत देखिन्छ। यस्तै, सार्वजनिक अर्को एक पोष्टरमा सौगातको साथमा नायिका बेनिशा हमाल, नायक उत्तम प्रधान, नाजिर हुसेन, कलाकार अर्पण थापा र सुलक्षण भारतीलाई देख्न सकिन्छ। यो पोष्टरले सिनेमाका अधिकांश पात्रहरुको चरित्र बोल्न खोजेको छ।
सिनेमामा उत्तम प्रधान, सौगात मल्ल, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी र श्याम मगरको मुख्य भूमिका छ। यस्तै, सिनेमामा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल–कलाकारको रुपमा छन्।
राकेश दाहालले तयार पारेको यो पोस्टर आकर्षक छ। यो सिनेमाले लोभको कथा भन्छ। मानिसको मनमा लोभ पलाएपछि उसको जिन्दगी कहाँबाट कहाँ पुग्छ र कस्तो परिस्थिती भोग्छ भन्ने कथालाई सिनेमामा देखाइएको छ।
आशिष अविरल, सरित राई, केतन क्षेत्रीको संगीत रहेको सिनेमामा एनबी महर्जनको एक्सन, मिलन श्रेष्ठको सम्पादन, निसाल पौडेलको छायांकन छ। सिनेमाका निर्माण प्रमुख सुरज आचार्य हुन्।
सिनेमाको दुई पोष्टरले दर्शकको उत्सुकता र प्रतीक्षा अझै बढाउने निश्चित छ।


