सिनेसुत्र, बिराटनगर- सिनेमा ‘लाज शरणम्’ निर्माण टिमले प्रदर्शनको १०१औँ दिन मनाएको अवसरमा विद्यार्थीलाई सहयोग गरेको छ। ‘लाज शरणम्’ टिमले सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिका–५ मा रहेको श्री बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ३० थान स्कुल ड्रेस, ब्याग र पानी पिउने बोतल सहयोग गरेको हो।
मदर किड्स फाउन्डेसन नेपालको आयोजनामा ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले उक्त सहयोग हस्तान्तरण गरेका हुन्।
“सफलतापूर्वक प्रदर्शन भइरहेको सिनेमा ‘लाज शरणम्’को गौरवमय १०१ औं दिनको उपलक्ष्यमा हामीले विद्यार्थीहरूलाई सहयोग गरेका छौँ। यो अवसरका निम्ति आयोजक मदर किड्स फाउन्डेसन नेपाल र एसीके केटिएम सिन्धु चौतारा सिटीलाई धन्यवाद दिन्छु,” निर्माता श्रेष्ठले भने, “हामी आगामी दिनमा पनि यस्तो सहयोग गर्दै जानेछौँ। सामाजिक काममा सहकार्य गर्दै जानेछौँ।”
कुमार कट्टेलको निर्देशन रहेको सिनेमा ‘लाज शरणम्’ले प्रदर्शनको १००औँ दिन मनाइसकेको छ। काठमाडौंका दुईवटा सिनेमाहलमा प्रदर्शनको १०१ दिन मनाएको हो।
शिवरात्रिको अवसर पारेर गत वर्षको फागुन १४ गते सार्वजनिक प्रदर्शनमा आएको सिनेमा काठमाडौंको न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स र गोंगबुस्थित विएसआर मुभिजमा प्रदर्शनको १०१ दिन मनाएको हो।
सिनेमा ‘लाज शरणम्’ गत वर्ष कात्तिक १५ गते रिलिज भएको ‘पूर्ण बहादुरको सारङ्गी’पछि १०१ दिन मनाउने पहिलो सिनेमा हो। ‘लाज शरणम्’मा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङलगायतको अभिनय छ। यो सिनेमामा निर्देशक समेत रहेका कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि विशेष भूमिकामा छन्।
जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन्। राम नरेश शाह र सिर्जना खड्का सह–निर्माता रहेका छन्। आफूले बनाएको सिनेमाले १०१ दिन मनाएपछि निर्माता श्रेष्ठले पहिलो सिनेमामा दर्शकले दिएको माया र हौसलाले थप उत्साही बनाएको बताएका छन्।
निर्माता श्रेष्ठले आगामी सिनेमा ‘पाँच पाण्डव’ निर्माण गर्ने तयारी समेत गरेका छन्। उक्त सिनेमाको पटकथा सुशील पौडेलले तयार गरिरहेका छन्। वसन्त निरौलाले निर्देशन गर्ने तय भएको छ। उक्त सिनेमा आगामी भदौ आसपासमा छायांकन गर्ने तयारी गरिएको उनले बताए।
यस्तै निर्माता श्रेष्ठले ‘लाज शरणम् २’ पनि निर्माणको तयारी भइरहेको जानकारी दिएका छन्।
