सिनेसुत्र, बिराटनगर- निर्देशक कृषा चौलागाइको निर्देशनमा तयार हुन लागेको सिनेमाको नाम सार्वजनिक गरिएको छ । केही दिन अगाडि कृषाले जापानमा पुगेर यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको सिनेमा साइन गरेकी थिइन् ।
यो सिनेमाको नाम ‘जहाजैमा’ राखिएको छ । सिनेमाको सार्वजनिक थीम पोष्टरमा एक जना पुरुष जहाज चढ्नका लागि विमानस्थलमा लगेज बोकेर जाँदै गरेको देखाइएको छ । सिनेमा जापान जाने सपना बोकेका युवाहरुको कथा भन्छ ।

उज्ज्वल गुरागाँइको निर्माणमा तयार हुन लागेको यो सिनेमाका कलाकारहरुको लाइनअप सार्वजनिक गरिएको छैन । सिनेमालाई पुरुषोत्तम प्रधानले छायांकन गर्ने पक्का भइसकेको छ । सन् २०२६ मा रिलिज गर्ने उद्देश्य राखिएको यो सिनेमालाई भदौबाट छायांकन गरिनेछ ।
सिनेमाको छायांकन नेपाल, जापान र फिलिपिन्समा हुने पक्का भइसकेको छ । सिनेमा ‘पिताम्बर’ले चर्चा पाएपछि कृषा २ वटा प्रोजेक्टमा लागिपरेकी छिन् । उनले ‘जहाजैमा’पछि ‘पिताम्बर २’ बनाउने घोषणा गरिसकेकी छिन् ।
जापानमा सिनेमा वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको व्यानरमा यो सिनेमा निर्माण गर्न लागेको हो । सिनेमामा नेपाल र जापानका कलाकारहरुको अभिनय रहनेछ ।
एक महिनासम्म सिनेमाको छायांकन जापानमा नै हुने बताइएको छ । कृषा हाल यो सिनेमाको प्रि–प्रोडक्सनमा व्यस्त छिन् ।
