सिनेमा अञ्जिला १०० दिन नजिक,अब क्यूएफएक्समा ‘अञ्जिला’ रु. १०० मा हेर्न पाइने

0 Shares

सिनेसुत्र, बिराटनगर- गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली सिनेमा ‘अञ्जिला’ लगातार प्रदर्शनको एक सय दिनको नजिक पुगेको छ। बुधवार ९१ औँ दिनमा काठमाडौंको क्युएफएक्स सिनेमा चेनको सामाखुसीस्थित सिटी स्क्वायर मलमा यो सिनेमा निरन्तर प्रदर्शनमा छ। बिहीबारको लागि उक्त हलमा ३ वटा शो प्रदान गरिएको छ।

सिनेमाका निर्माता प्रेमकुमार श्रेष्ठले सय दिन नजिक पुग्दै गर्दा क्युएफएक्स सिनेमाजले निरन्तर प्रदर्शनमा रहेको हलसहित देशभरका अन्य केही हलमा समेत रू. १०० दरमा सिनेमा देखाउने तयारी गरेको बताए। उनले भने, “दर्शक स्वतःस्फूर्त रूपमा निरन्तर आइरहनु भएको छ। तर, सय दिन पुग्न लागेको समयमा क्युएफएक्सले सहुलियतमा सिनेमा देखाउने भनेको छ। यसमा हामीले पनि समर्थन गरेका छौँ। सय दिनसम्म ऐतिहासिक रिलिज भइरहनु नेपाली सिनेमा को लागि सुखद कुरा रहेको कारण यो सिनेमा हेर्न चाहेका सबै दर्शकले हेर्न पाउन् भन्ने उद्देश्य लिएका छौँ।”मिलन चाम्सले निर्देशन गरेको ‘अञ्जिला’ वर्ष २०८१ को व्यापारिक आँकडामा उत्कृष्ट पाँच भित्र परिसकेको छ। हालसम्म यस सिनेमा ले १२ करोड माथिको व्यापार गरिसकेको निर्माताले बताएका छन्। यो सिनेमा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ। यसमा एन्जिला आफैँले प्रमुख अभिनय गरेकी छन् भने दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायतको अभिनय रहेको छ।

यसैबिच, प्रदर्शनको ९० औँ दिनमा पूर्व मन्त्री सुदन किराँतीले ‘अञ्जिला’ हेरेर प्रतिक्रिया दिएका छन्। किराँतीले यो सिनेमा दुःखलाग्दो घटनाको प्रेरणादायी कथा भएको बताउँदै भनेका छन्, “पूर्वी पहाडी भेगको किराँती समाजको यो कथा हेरिरहँदा म आफैलाई हेरिरहेँ, नदेखीकन पटक पटक देखिरहेँ। आँखा बन्द गरिरहेँ तर आँसु झरिरह्यो।”

सिनेमाका निर्देशक मिलन चाम्स यतिबेला बेलायतमा छन्। उनी त्यहाँका विभिन्न सहरहरूमा ‘अञ्जिला’ प्रदर्शनको लागि पुगेका हुन्।

सम्बन्धित समाचारसबै