सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा क्षेत्रका चर्चित अभिनेता पल शाह अब बहुप्रतिक्षित सिनेमा ‘महाराजधिराज’ सँग आबद्ध रहने छैनन्। निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्टले आज एक औपचारिक सूचना जारी गर्दै शाहसँग भएको सम्झौता आपसी सहमतिमा अन्त्य गरिएको जानकारी दिएको छ।
मिति २०८१ कार्तिक १४ गते (सन् २०२४ अक्टोबर ३०) मा भएको सम्झौता आज मिति २०८२ जेठ ३० गतेदेखि प्रभावकारी रूपमा समाप्त गरिएको उल्लेख गर्दै, निर्माण पक्षले सिनेमा ‘महाराजधिराज – Nepali Movie’ को आधिकारिक फेसबुक पेजमार्फत सूचना सार्वजनिक गरेको हो।
तर सम्झौता किन तोडियो भन्ने मुख्य प्रश्नमा भने निर्माण पक्ष पूर्णतः मौन देखिएको छ। सार्वजनिक विज्ञप्तिमा स्पष्ट भनिएको छ, “अब उप्रान्त यस विषयमा कुनै पक्षबाट कुनै पनि प्रकारको कुराकानी हुने छैन। तेस्रो पक्षबाट आउने ‘कहाँ’, ‘किन’, ‘कसरी’, ‘कसले’ जस्ता प्रश्नहरूको उत्तर दिइने छैन।”
यस प्रकारको अस्पष्ट र बन्द शैलीको सूचना सार्वजनिक भएपछि सिने वृत्तमा अनेक अड्कलहरु लगाइने देखिएको छ । विशेषतः पल शाहजस्तो चर्चित कलाकारको संलग्नता अचानक अन्त्य हुनु सामान्य विषय होइन, त्यो पनि कुनै कारण नखुलाई।
पछिल्ला वर्षहरूमा शाह अभिनीत ‘मायाबी’ र ‘रावायन’ जस्ता सिनेमाहरू बक्स अफिसमा कमजोर देखिएका थिए। तर ‘महाराजधिराज’ को पहिलो पोस्टर सार्वजनिक भएपछि शाहको पुनरागमनले दर्शकहरूमा केही आशा र उत्सुकता जगाएको थियो। यस्तो समयमा निर्माण पक्षको यति ठुलो निर्णय, त्यो पनि कारणविहीन रूपमा, सार्वजनिक हुदा अझ धेरै प्रश्नहरू उब्जाइरहेको छ।
सामाजिक सञ्जालमा दर्शक र फिल्मकर्मीहरूले निर्माण टिमको ‘क्लोज्ड कम्युनिकेसन’ शैलीप्रति कटाक्ष गर्दै टिप्पणी गरिरहेका छन्। केहीले यो निर्णय शाहको अघिल्लो सिनेमा फ्लप हुनु सँग जोडेर विश्लेषण गरिरहेका छन् ।
भविष्यमा पल शाहको कलाकारिता यात्रा कता मोडिन्छ भन्ने विषय अझ गम्भीर बन्दै गएको छ तर, ‘महाराजधिराज’ जस्तो ठूलो बजेटको सिनेमाबाट उनको बाहिरिनुले प्रचार–प्रसार, कलाकारको सशक्तता र दर्शकको अपेक्षामा असर पर्ने निश्चित देखिन्छ।
अब निर्माण पक्षले कसलाई प्रमुख भूमिकामा ल्याउनेछ ? त्यो भने प्रतिक्क्षाको बिषय रहेको छ ।
‘महाराजधिराज’ सिनेमाको लेखक तथा निर्देशक परिच्छेद सेन हुन् भने, निर्माता टोपेन्द्र बिष्ट, चक्र बहादुर केसी र रबिन खड्का रहेका छन्। यस सिनेमाका प्रस्तुतकर्ता बिराज बिष्ट हुन।
