सिनेसुत्र, बिराटनगर- प्रतीक्षा गरिएको नेपाली सिनेमा ‘महाभोज’ आजदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ। दिनेश राउत निर्देशित यस सिनेमाले करिब २०० शोसहित सार्वजनिक प्रदर्शनको सुरुवात गरेको हो। दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, र गौमाया गुरुङको मुख्य भूमिका रहेको यो सिनेमाले दर्शकमाझ राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ।
काठमाडौंमा केही दिनअघि प्रिमियर भइसकेको ‘महाभोज’ को टोलीले हालै पोखरा र बुटवलमा पनि विशेष शो आयोजना गरेको थियो। यसै क्रममा बिहीबार एकै दिन विराटनगर र धरानमा पनि भव्य प्रिमियर शोहरू सम्पन्न गरिएका छन्। यी प्रिमियरहरूमा सहभागी दर्शकहरूले सिनेमाप्रति निकै उत्साह देखाएका छन्।
हाल सिनेमाको स्वतन्त्र समीक्षा र दर्शक प्रतिक्रियालाई महत्त्व दिने प्रचलन बढिरहेका बेला ‘महाभोज’ ले व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको छ। यसले गर्दा सिनेमाले दर्शकको मौखिक प्रचारमार्फत निकै राम्रो दर्शक पाउने निश्चित देखिएको छ।
काठमाडौं उपत्यका बाहिरका प्रिमियर शोहरूमा कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महतका साथै निर्देशक दिनेश राउत पनि उपस्थित थिए। सिनेमा युनिटले प्रिमियरबाट प्राप्त दर्शकको प्रतिक्रियाले आफूहरू निकै उत्साहित भएको बताएको छ।
प्रिमियर शोहरूमा समाजका प्रतिष्ठित व्यक्तिहरू, पत्रकारहरू, र केही सहकारी पीडितहरू पनि सहभागी थिए। विशेष गरी सहकारी पीडितहरूले यो सिनेमा सबैले हेरेर राज्यलाई व्यापक दबाब दिनुपर्ने प्रतिक्रिया दिएका छन्। उनीहरूले सिनेमाले यथार्थपरक चित्रण गरेको र न्यायका लागि आवाज उठाउन प्रेरित गर्ने बताएका छन्। अन्य दर्शकहरूले भने सिनेमाले मनोरञ्जनका साथै आम नेपालीलाई ठुलो चेतना दिएको बताएका छन्।
‘महाभोज’ क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा बनेको सिनेमा हो। यसका निर्माता हिमाल कडरिया हुन्।
