सिनेसुत्र, बिराटनगर- तेलुगु, हिन्दी र तमिलका चर्चित अभिनेता प्रदीप रावत नेपाली सिनेमा ‘आ बाट आमा’मा अनुबन्ध भएका छन्। चन्द्र पन्तको निर्देशनमा बन्न लागेको यस सिनेमामा उनी अनुबन्ध भएका हुन्।
निर्देशक पन्तले प्रदीप रावतलाई सिनेमामा अनुबन्ध गरेको बताए। उनले भने, ‘आ बाट आमा’मा प्रदीप रावतलाई अनुबन्ध गरेका छौँ। उहाँ यो सिनेमामा पल शाहको बुबाको भूमिकामा हुनुहुनेछ। नितान्त नेपाली लोकमा, नेपाली स्टाइलको भूमिकामा उहाँले अभिनय गर्नुहुन्छ।’
नेपाली सिनेमामा काम गर्न पाउँदा आफू निकै उत्साहित रहेको अभिनेता रावतले बताएका छन्। उनले यसअघि ‘ह्रस्व दीर्घ’ नामक सिनेमामा पनि अभिनय गरेका थिए। जहाँ उनले अभिनेत्री नीता ढुङगानाको बुबाको भूमिका निर्वाह गरेका थिए, जुन पात्रलाई दर्शकले मन पराएका थिए। ‘आ बाट आमा’मा भने उनी पल शाहको बुबाको भूमिकामा देखिन लागेका हुन्।
निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेका सिनेमाहरू ‘माई’ र ‘ह्रस्वदीर्घ’मा पनि उनले काम गरिसकेका छन्। यस सिनेमामा यसअघि विपना थापा र पल शाह अनुबन्ध भइसकेका छन्। चन्द्र पन्तकै निर्देशनमा बनेको सिनेमा ‘ह्रस्वदीर्घ’बाट विपनाले १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गरेकी थिइन्। अब उनले पन्तकै दोस्रो सिनेमामा पनि सहकार्य गर्न लागेकी हुन्।
सिनेमाको स्क्रिप्ट अभिमन्यु निरवीले तयार पारेका हुन् भने भदौबाट फ्लोरमा जाने तयारी निर्माण पक्षको रहेको छ। सिनेमामा प्रदीप, विपना र पलका साथै अन्य कलाकारहरू पनि अनुबन्ध गर्ने काम भइरहेको निर्माण पक्षले जनाएको छ। अन्य कलाकार र प्राविधिकको टुंगो छिट्टै लाग्ने निर्देशक पन्तको भनाइ छ।
थिम पोस्टर दुई साता अघि सार्वजनिक भइसकेको छ। निर्देशक पन्तका अनुसार यो सिनेमा आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउनेछ।
