सिनेसुत्र, बिराटनगर- यही असार २७ गते शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली सिनेमा ‘यो मन त मेरो नेपाली हो’ को अमेरिकामा विभिन्न सहरमा विशेष प्रदर्शन गरिएको छ। अमेरिकाको कोलम्बस, हर्रिसबर्ग र पिट्सबर्गमा गरिएको विशेष शोमा सिनेमा हेर्ने दर्शकले खुलेरै प्रसंसा गरेका छन्।
सोमवार राति पिट्सबर्ग गरिएको विशेष शो हेर्ने दर्शकले विश्वका विभिन्न देशहरूमा बसोबास गर्दै आएका नेपालीहरूले आफ्नो कला, संस्कार, संस्कृति बिर्सँदै गएको हुँदा सिनेमाको माध्यमबाट नेपाली भाषाप्रतिको आकर्षण, महत्व र इतिहास दर्शाउन खोजिएकोले सिनेमा निकै सुन्दर र हरेक नेपालीभाषीले हेर्नुपर्ने सिनेमा बनेको भन्दै दर्शक सिनेमाको तारिफ गरेका छन्।
‘यो मन त मेरो नेपाली हो’ मा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन “मन्त्री”, सुबास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ।
यो सिनेमाले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसाथै “नेपाली को हुन्” भन्ने विषयवस्तुलाई उठान गर्न खोजेको छ। पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन्।
अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशनमा बनेको यस सिनेमामा शिवम् अधिकारीको लेखन रहेको छ। सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, सम्पादन बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ।
दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको सिनेमामा संगीत रहेको छ भने दिपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी घायलको शब्द तथा खैंजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ।