सिनेसुत्र, बिराटनगर- निर्देशक कृषा चौलागाइले नयाँ सिनेमा ‘जहाजैमा’मा साइन गरेसँगै यसको चर्चा खुबै छ । कृषाले जापान पुगेर यो सिनेमाको निर्देशन गर्ने संझौता गरेकी थिइन् । हाल उनी प्रि–प्रोडक्सनको काममा धमाधम लागिरहेकी छिन् ।
सिनेमालाई पुरुषोत्तम प्रधानले छायांकन गर्ने पक्का भइसकेको छ । सिनेमाको निर्माणपक्षले सिनेमाकी मुख्य नायिकाको नाम सार्वजनिक गरेको छ ।
यो सिनेमामा जापानीज नायिका रजेल इचिमियाले काम गर्ने पक्का भएको हो । कृषाले जापान पुगेको समयमा रजेलसँगको तस्वीर शेयर गरेपनि उनको बिषयमा केही पनि उल्लेख गरेकी थिइनन् ।
सार्वजनिक पोष्टरमा सफा हिउँले भरिएको दृश्य, पारदर्शी छातामुनी उभिएकी रजेलको शालिनता र सुन्दरता छल्किएको छ । सार्वजनिक पोष्टर हेर्दा यो सिनेमा एउटा सिनेमा मात्र नभएर नेपाल र जापानविचको भावनात्मक पुलको रुपमा अगाडि आउने विश्वास गर्न सकिन्छ ।
निर्देशक चौलागाइले यसपटक सिनेमामा जापानकी नायिकालाई नेपाली कथामा मिसाउनु चुनौतीपुर्ण भएपनि रोचक हुने बताइन् । यो सिनेमालाई यूएनए प्रोडक्सनको व्यानरमा उज्ज्वल गुरागाँइले निर्माण गर्दैछन् । सिनेमाले नेपाल–जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्ने उज्ज्वलको भनाई छ ।
सिनेमामा जापानीज नायिका हुने पक्का भएपनि नायक कुन देशका हुनेछन् भन्ने खुलाइएको छैन । निर्देशक चौलागाइले हाल नायक फाइनल गर्ने प्रक्रियामा नै आफूहरु रहेको बताइन् ।
रजेल जापनमा सक्रिय रुपमा काम गरिरहेकी नायिका तथा मोडल हुन् । उनलाई नेपाली सिनेमामा भित्राउनु आफैमा नयाँपन हो । यसले नेपाली सिनेमाको अन्तरराष्ट्रिय छविलाई थप बलियो बनाउने विश्वास गरिएको छ ।
यो सिनेमालाई सन् २०२६ मा रिलिज गर्ने तयारी गरिएको छ ।
