सिनेसुत्र, बिराटनगर- यहि असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘यो मन त मेरो नेपाली हो’ को प्रचारप्रसारका लागि सिनेमा निर्देशक मित्र प्रधान र नायिका आयुषा समाल नेपाल आइपुगेका छन्। शनिबार बिहान अमेरिकाबाट सिनेमा रिलिजको तयारीसहित नेपाल उत्रिएका उनीहरूलाई सिनेमा नायक रोशन श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। निर्देशक प्रधान र नायिका समाल दुवै अमेरिकामा स्थायी रूपमा बसोबास गर्छन्।
निर्देशक प्रधानले अमेरिकाका विभिन्न सहरहरूमा भएको प्रदर्शन र दर्शकको सकारात्मक प्रतिक्रिया आफूसँगको प्रेरणा भएको बताउँदै अब नेपालमा पनि सिनेमा ‘यो मन त मेरो नेपाली हो’ ले असार २७ गतेदेखि प्रदर्शनमा आएपछि यहाँका दर्शकबाट साथ र सहयोगको अपेक्षा राखेका छन्। उनले नेपाली भाषा, साहित्य, कला, इतिहास र पहिचान जस्ता पक्ष समेटिएको यो सिनेमा प्रत्येक नेपालीले हेर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन्।
सिनेमामा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन “मन्त्री”, सुबास भन्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजबंशी, भानुभक्त सिटौला लगायत कलाकारहरूको अभिनय रहेको छ।
पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको यस सिनेमाको निर्माण ज्ञान बहादुर प्रधान (रोशन) ले गरेका हुन्। अमेरिकामा बसोबास गर्ने साहित्यकार मित्र प्रधान (नर) को निर्देशनमा बनेको सिनेमामा शिवम् अधिकारीको लेखन रहेको छ। सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, बनिश शाहको सम्पादन तथा सिजिआई सत्यम रानाले गरेका छन्।
सिनेमाको संगीत दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईले दिएका छन्। गीतमा दिपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी घायल र खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ।
