‘तथास्तु’ घोषणा: अरुण लामाको नयाँ सिनेमा भाग्य, कर्म र रूपान्तरणको कथा

0 Shares

सिनेसुत्र, बिराटनगर- ‘डोरी’का निर्देशक अरुण लामाले दोस्रो सिनेमा ‘तथास्तु’ निर्माण गर्ने भएका छन्। उनले एक पोस्टर सार्वजनिक गर्दै सिनेमा निर्माणको घोषणा गरेका हुन्।

सार्वजनिक गरिएको पोस्टरमा सिनेमा छायांकन अर्को वर्ष अर्थात् २०८३ को सुरुवातमा हुने उल्लेख छ भने प्रदर्शन भने सन् २०२७ मा हुनेछ। ‘जी. सेभेन प्रोडक्सन् प्रा.लि’को प्रस्तुति रहने यो सिनेमा निर्देशक लामाका अनुसार केवल सिनेमा नभई कर्म, भाग्य र आन्तरिक रूपान्तरणको कथा हुनेछ।

सिनेमाले आध्यात्मिक यात्रा, अन्तरद्वन्द्व र सामाजिक यथार्थबीचको द्वन्द्व प्रस्तुत गर्नेछ। साथै, ‘सिमुलेसन थ्योरी’ को पृष्ठभूमिमा दुई लोक — भगवानको लोक र मानिसहरूको लोकबीचको कथा समेटिनेछ।निर्देशक लामाले सिनेमा ‘तथास्तु’ राख्नुको कुरालाई समेत अर्थ्याएका छन्। उनले भने, ‘यो शब्दको अर्थ हो, जसरी तपाईंले चाहनुभयो, त्यसैगरी होस्। तर के हामीले चाहेका सबै कुरा साँचिकै ठीक हुन्छन् त? के हामी त्यसको लागि तयार छौं त? जीवनमा प्राप्तिभन्दा बुझाइ महत्वपूर्ण हुन्छ। तपाईंले मागेको कुरा तब मात्र सार्थक हुन्छ, जब तपाईं त्यसलाई ग्रहण गर्न तयार हुनुहुन्छ।’

निर्देशक लामाले सिनेमामा नयाँ पुस्ताका चर्चित कलाकारहरू, नेपाल र भारतका अप्रत्याशित तर सक्षम अनुहारहरू, स्थापित कलाकार तथा उदाउँदा प्रतिभाहरूलाई स्थान दिने बताएका छन्। नेपाली र हिन्दी दुवै भाषामा निर्माण हुने यो सिनेमा नेपाल र भारतमा छायांकन गरिनेछ।सिनेमाको सुटिङ पनि दुई चरणमा गरिने निर्देशक लामाले बताएका छन्। यसअघि उनले सिनेमा ‘डोरी’ निर्माण गरेका थिए, जुनले गतिलो व्यापार गर्न सकेन। निर्देशक लामाका अनुसार आफ्नो डेब्यु सिनेमा ‘डोरी’ प्रजातन्त्र समर्थक आन्दोलनका कारण दर्शकसम्म पुग्न नसकेको हो। उनले भने, ‘हलहरू सुनसान हुँदा सिनेमाले अपेक्षित व्यावसायिक सफलता पाउन सकेन। तर जसले हेरे, प्रायः सबैले मन पराए।’

सम्बन्धित समाचारसबै