नेपाली सिनेमा इतिहासमै पहिलोपटक ‘कोशेढुंगा’ ४० भन्दा धेरै देशमा एकैपटक रिलिज

0 Shares

सिनेसुत्र, बिराटनगर- आगामी भदौ १२ गतेदेखि प्रदर्शन हुने सिनेमा ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ। सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको सिनेमा ‘कोशेढुंगा’ नेपालसँगै अमेरिका, अस्ट्रेलिया, जापान, युके, क्यानडालगायत ४० भन्दा धेरै देशमा प्रदर्शन हुनेछ।

सिनेमा ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ। सेभेन सिजले यो सिनेमा सो मितिमा देश तथा विदेशमा एकसाथ प्रदर्शनमा आउने निर्माण कम्पनीले जनाएको छ।

“हाम्रो सिनेमा ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुनेछ। अन्य देशमा पनि रिलिजका लागि वितरकहरूसँग कुरा भइरहेको छ,” निर्देशक पौडेलले भने, “रिलिजको समयसम्म अन्य केही देश पनि थपिनेछन्।”डायस्पोरामा नेपाली सिनेमा इतिहासमै पहिलो पटक ‘कोशेढुंगा’ एकसाथ ४० देशमा आगामी भदौ १२ गते (अगस्ट १८ मा) प्रदर्शन हुन लागेको हो। यो जानकारी अन्तर्राष्ट्रिय वितरक कम्पनी सेभेन सिज इन्टरनेसनलका निर्देशक रमेश ढकालले दिएका हुन्।

नेपाली सिनेमा डायस्पोरा इतिहासमा पहिलो पटक यति धेरै देशमा एकसाथ सिनेमा प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली सिनेमा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने अपेक्षा गरिएको छ।

निर्देशक पौडेलको निर्देशनमा बनेको यो सिनेमा ‘कोशेढुंगा’को छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको छ। काठमाडौंमा पनि सेट लगाएर सिनेमा छायांकन गरिएको हो। गाउँले सेटअपमा यो सिनेमा मौलिक कथा पस्किनेछ।यो सिनेमाको केही समयअघि सार्वजनिक पोस्टरमा अभिनेत्री पन्तलाई पछ्यौरी ओढेको गाउँले महिलाको भूमिकामा प्रस्तुत गरिएको थियो।

नरदेवी फिल्मसको प्रस्तुति रहेको सिनेमा ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ।

सिनेमाका निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन्। कार्यकारी निर्माता दिनेश खड्का हुन्। बाबु श्रेष्ठले छायांकन गरिरहेको यस सिनेमामा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत रहेको छ। सिनेमाको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन्।

सम्बन्धित समाचारसबै