मल्टिस्टारर सिनेमा ‘जहाजैमा’ मा माग्ने बुढा अनुबन्धित: छायांकन भदौबाट सुरु

0 Shares

सिनेसुत्र, बिराटनगर- निर्देशक कृषा चौलागाइले निर्देशन गर्न लागेको तेस्रो सिनेमा ‘जहाजैमा’ मा अहिलेका चर्चित कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भएका छन्। आज सिनेमाको निर्माण टिमले केदारसँग कागजी सम्झौता गरेको हो।

कृषा र केदारले पहिलो पटक सिनेमा सहकार्य गर्न लागेका हुन्। केदार अनुबन्धित भएपछि निर्देशक कृषाले भनिन्— “केदारजी अहिलेको सर्वाधिक रुचाइएको कलाकार हुनुहुन्छ। हाम्रो सिनेमामा उहाँको निकै नै महत्वपूर्ण भूमिका छ। उहाँलाई सिनेमा भित्राउन पाउँदा निकै नै उत्साहित छौं।” यो सिनेमाको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ। प्रि–प्रोडक्सनमा साथ दिन निर्माता उज्ज्वल गुरागाईं जापानबाट नेपाल आएका छन्। आज कलाकार केदारसँग उज्ज्वलले कागजी सम्झौता गरेका हुन्।

सिनेमामा मल्टिस्टारर कलाकारहरू रहने छन्। अन्य कलाकारहरूसँग पनि कुराकानी अगाडि बढेको तर फाइनल नभइसकेको निर्माण पक्षले जनाएको छ। यस सिनेमामा यसअघि जापानी नायिका रुजेल इचिमिया फाइनल भइसकेकी छिन्। सिनेमाले नेपाल, जापान र फिलिपिन्सको कथा प्रस्तुत गर्नेछ।

यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको सिनेमाको छायांकन भदौबाट सुरु हुने जनाइएको छ। सिनेमालाई नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ।

सम्बन्धित समाचारसबै