‘ऊनको स्वीटर’ सफलताका साथ प्रदर्शनको सफल ५१ दिनमा: निर्देशक चौहानको आभार

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा ‘ऊनको स्वीटर’ले देशभरका करिब ४० वटा सिनेमा हलहरूमा शनिवार सफलतापूर्वक प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । यो सिनेमा दर्शकहरूको मन जित्दै बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको हो । नेपाली सिनेमा क्षेत्रमा ५१ दिन प्रदर्शन हुनुलाई ठुलो सफलता मानिन्छ ।

विशेष गरी, नेपाली समाजको यथार्थपरक कथावस्तु, सशक्त अभिनय र सुमधुर सङ्गीतका कारण ‘ऊनको स्वीटर’ दर्शकहरूमाझ लोकप्रिय बनेको छ । यसका निर्देशक नवीन चौहानले सफलताप्रति खुसी व्यक्त गर्दै दर्शक र शुभचिन्तकहरूप्रति आभार प्रकट गरे । उनले यस सिनेमाले पाएको मायाले आगामी दिनमा अझ राम्रो काम गर्न प्रेरित गरेको बताए ।‘ऊनको स्वीटर’ले ग्रामीण तथा सहरी दुवै क्षेत्रका दर्शकहरूलाई आकर्षित गर्न सफल भएको छ । हल सञ्चालकहरूका अनुसार, यो सिनेमा हेर्न परिवारसहित आउने दर्शकहरूको सङ्ख्या उल्लेख्य रहेको छ । सिनेमा ले मिडिया समीक्षक तथा स्वतन्त्र समीक्षकहरूबाट पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ, जसले गर्दा यसको चर्चा अझ बढेको छ ।

चौहानले नै यस सिनेमाको स्क्रिप्ट लेखेका हुन् भने आर्टमान्डूले निर्माण गरेको हो । विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ । यसका गीत निर्देशक सुजन चापागाईँ हुन् भने सङ्गीत निर्देशक कोविद बज्र हुन् ।

सम्बन्धित समाचारसबै