सिनेसुत्र, बिराटनगर- कलाकार तथा निर्देशक माओत्से गुरुङको आगामी सिनेमा ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा देखिने भएका छन्। यो सहकार्य गुरुङ र राईबीचको दोस्रो हो। यसअघि गुरुङको निर्देशकीय डेब्यु सिनेमा ‘दयारानी’मा पनि दयाहाङ राई नै शीर्ष भूमिकामा थिए।
निर्देशक गुरुङका अनुसार, उनीहरूको यो दोस्रो सहकार्यलाई अझ परिष्कृत र उत्कृष्ट सिनेमाका रूपमा दर्शकमाझ प्रस्तुत गर्ने प्रयास गरिनेछ। ‘पेन्सनपट्टा’को शीर्षकले भूतपूर्व लाहुरेको कथालाई सङ्केत गरे तापि, सिनेमाको मूल विषयवस्तु भने लोभी स्वभावको एक पात्र कसरी दानी बन्न पुग्छ भन्ने कथामा केन्द्रित हुने बताइएको छ। गुरुङ आफैँले यो सिनेमाको कथा लेखेका हुन्, जुन उनको आफ्नै ब्यानर माओत्से गुरुङ फिल्म्स मार्फत निर्माण हुँदैछ।
आगामी कात्तिकको तेस्रो साताबाट छायाङ्कन सुरु हुने यो सिनेमाको सम्पूर्ण दृश्य पोखरा र आसपासका रमणीय स्थानहरूमा कैद गरिनेछ। निर्माण टोलीका अनुसार, सिनेमामा दयाहाङ राईबाहेक अन्य कलाकारको भने टुङ्गो लागिसकेको छैन र यसको घोषणा छिट्टै गरिने प्रोडक्सन म्यानेजर डि.बी. गुरुङले जानकारी दिए।