सिनेसुत्र, बिराटनगर- रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘कुम्भ’को प्रदर्शन मिति घोषणा भएको छ । बिहीबार यो सिनेमाको थिम पोस्टर सार्वजनिक गर्दै आगामी मंसिर १२ गतेबाट देशभर प्रदर्शनमा आउने जानकारी दिइएको हो ।
लामो समयदेखि म्युजिक भिडियो निर्देशन र सिनेमा छायांकनमा सक्रिय निर्देशक श्रेष्ठको यो डेव्यु निर्देशकीय सिनेमा हो । ए रस प्रोडक्सन र ध्रुव एस्ट्रो वास्तु स्टुडियोको ब्यानरमा निर्माण भएको सिनेमालाई नेपालीसँगै हिंन्दी भाषामा समेत रिलिज गर्ने तयारी निर्माण टिमको छ । सिनेमामा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरले पनि अभिनय गरेका छन् ।
एक्सन जनरामा निर्माण भएको ‘कुम्भ’मा डेव्यु अभिनेता अशोक आर्यन तथा वरिष्ठ कलाकार सुनिल थापा र सुशील पोखरेलसहित अफ्सना थापा, रोहित रुम्बा र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ । सिनेमाको कथा लेखन चतम छायांकन पनि निर्देशक श्रेष्ठ स्वयंले गरेका हुन् । यो सिनेमा द्वन्द्व निर्देशन सम्राट बस्नेतको रहेको छ ।
रन्धिर श्रेष्ठ, ध्रुवराज पराजुली र राजेश साह निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती हुन् । सिनेमाको सम्पादन संदेश शाह र ध्रुवराज पराजुलीले गरेका छन् । सिनेमाको वितरण अधिकार श्री राम बालाजी फिल्मस्ले लिएको छ ।
