सिनेसुत्र, बिराटनगर- यम शेर्पाको निर्देशनमा बन्न लागेको सिनेमा ‘मिरमिरे’को आज अर्थात असार २१ गत्तेबाट औपचारिक रुपमा छायांकन सुरु भएको छ। पनौती नगरपालिका–११, बल्थलीस्थित श्री लड्केश्वर आधारभूत विद्यालय परिसरमा क्यामेरा पूजा गर्दै निर्माण पक्षले छायांकनको शुभारम्भ गरेका हुन्।
३५ दिनको छायांकन समय रहेको निर्देशक यम शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार सिनेमाको अधिकांश छायांकन काभ्रेका विभिन्न रमणीय स्थानमा हुनेछ।
सिनेमाको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् त्यस्तै, कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलले अभिनय रहनेछ । यार्सा फिल्म्सको प्रस्तुति रहने सिनेमा ‘मिरमिरे’को निर्देशनसँगै कथा पनि यम शेर्पा स्वयंले लेखेका हुन्।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माताको रूपमा रहेका छन् भने सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन्। सिनेमाको कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालकसमेत रहेका चलचित्र वितरक रोहित कट्टेल हुन्। सिनेमामा आलोक शुक्लाको छायांकन रहने छ ।
‘मिरमिरे’ सिनेमा २०८२ सालमा प्रदर्शनमा आउने भनिए पनि रिलिज मिति भने अझै तय भएको छैन।
