साइफाइ सिनेमा ‘एक्लो’को भिडियो पोस्टर सार्वजनिक, लण्डनमा पोस्ट-प्रोडक्सन जारी

0 Shares

सिनेसुत्र, बिराटनगर- वैज्ञानिक कल्पनालाई विषयवस्तु बनाउँदै निर्माण गरिएको सिनेमा ‘एक्लो’ को फर्स्टलुक भिडियो सार्वजनिक गरिएको छ। आइतबार सार्वजनिक गरिएको भिडियोमा सिनेमाका प्रमुख कलाकारहरूको लुक्स एकसाथ प्रस्तुत गरिएको छ।

प्रदीप शाहीको निर्देशनमा बनेको साइफाइ सिनेमा ‘एक्लो’ ले यसअघि विश्वविख्यात कान्स फिल्म फेस्टिभलमा स्टलमार्फत अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति जनाइसकेको थियो।

निर्देशक शाहीले यसअघि दुईवटा सिनेमा निर्देशन गरिसकेका छन्। उनले ‘एक्लो’ लाई हलिउडस्तरको प्रविधि र प्रस्तुति दिनेतर्फ विशेष ध्यान दिइरहेका छन्। सिनेमाको हाल पोस्ट-प्रोडक्सन कार्य लण्डनमा भइरहेको छ भने यो सिनेमालाई पुष १० गते क्रिसमसको अवसर पारेर प्रदर्शन गर्ने तयारी निर्माण टिमले जनाएको छ।सिनेमामा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, साथै बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहको अभिनय रहेको छ। यस्तै, सिनेमामा बेलायती अभिनेता जेमी बेकन पनि देखिनेछन्।

राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति, र शशिकला गुरुङ निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्।

बाबु श्रेष्ठले छायांकन गरेको सिनेमामा भने राजु तामाङको द्वन्द्व निर्देशन छ। ‘एक्लो’ लाई नेपाली सिनेमा उद्योगमा वैज्ञानिक कल्पनामा आधारित उच्चस्तरीय फिल्म निर्माणतर्फको गम्भीर प्रयासका रूपमा हेरिएको छ। प्रविधि, प्रस्तुति, विषयवस्तु र अन्तर्राष्ट्रिय पहुँचको समिश्रणले यो सिनेमा नेपाली सिनेमा क्षेत्रमै नयाँ उदाहरण बन्ने अपेक्षा गरिएको छ। भिडियो पोस्टर हेर्नुहोस :

सम्बन्धित समाचारसबै