सिनेसुत्र, बिराटनगर- साउनको २३ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘मोहर’को दोस्रो गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक गरिएको छ। आज सार्वजनिक गरिएको यो गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द, एसडी योगीको संगीत छ।
सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य नायक पल शाह र नायिका बेनिशा हमाललाई फिचरिङ गरिएको छ। गीतको भिडियोमा यी दुई कलाकार छमछमी नाचेका छन्। भिडियोमा दुइको नोकझोक पनि देखिन्छ। यसले, सिनेमा भित्र पल र बेनिशाको केमेष्ट्री कस्तो छ भन्ने पनि देखाएको छ।
यसअघि सार्वजनिक सिनेमाको शिर्ष गीतमा नायक पल शाह र नायिका नीति शाहको जोडीलाई देखाइएको थियो। यो गीतको भिडियोमा भने पलले लामो कपाल पालेका छन्। गीतमा सिनेमाकी मुख्य कलाकार मिथिला शर्मा, बाल–कलाकार सारा शर्मालाई पनि देख्न सकिन्छ।
सिनेमा मेकर्स प्रा.लि.को व्यानरमा निर्माण भएको सिनेमाका निर्माता चुम्बन जंग शाही हुन्। सिनेमामा अर्जुन जंग शाही, रवीन्द्र झा, लक्ष्मी गिरीको पनि मुख्य भूमिका छ। सिनेमामा कुमार महर्जनको एक्सन, दिपेन बस्न्यातको छायांकन, सुरेश अधिकारी, एसडी योगी र थानेश्वर गौतमको संगीत छ।
सिनेमाको टिजरले दर्शकहरूको उत्कृष्ट प्रतिक्रिया पाइसकेको छ। देउकी प्रथाको कथामा तयार भएको यो सिनेमामा गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन छ। लक्ष्मण राज पौडेल निर्माण नियन्त्रक रहेको यो सिनेमाको सार्वजनिक गीतमा कविराज गहतराजको कोरियोग्राफी छ। भिडियो हेर्नुहोस : 