सिनेसुत्र, बिराटनगर- विल्सन विक्रम राई (तक्मे बुढा)को निर्देशनमा बन्न लागेको सिनेमा ‘मैझारो’मा अभिनेत्री मिरुना मगर अनुबन्धित भएकी छन्। मंगलबार मिरुना र विल्सनबीच कागजी सम्झौता भएको हो। यसअघि निर्माण पक्षले मुख्य अभिनेतामा धीरज मगरलाई अनुबन्ध गरेको थियो।
सिनेमामा धीरज र मिरुनाका अलवा अन्य कलाकारहरूको भने टुङ्गो लागेको छैन। यसै साता कलाकारको पूर्ण लाइनअप तयार पारेर आगामी साउन पहिलो साताबाट छायांकन सुरु गर्ने तयारी गरिएको छ। सिनेमालाई पूर्वी पहाडी भेग इलाम र पाँचथरका रमणीय स्थानहरूमा खिचिनेछ।
तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने यो सिनेमालाई विल्सन स्वयंले लेखेका हुन्। यसमा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत, राजेश पायल राईको गायन तथा सौरभ लामाको छायांकन रहनेछ। पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थतामा सिनेमा आधारित हुने जनाइएको छ। 