‘यो मन त मेरो नेपाली हो’ सिनेमा ग्राण्ड प्रिमियरमा बटुल्यो तारिफ: “हरेक नेपालीले हेर्नुपर्ने सिनेमा”

0 Shares

सिनेसुत्र, बिराटनगर- काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा बुधबार साँझ सिनेमा ‘यो मन त मेरो नेपाली हो’ को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ। नेपाली भाषा, साहित्य, कला र देशभक्तिप्रति समर्पित सिनेमा भोली शुक्रबार (असार २७) बाट देशभर प्रदर्शनमा आउँदैछ। प्रिमियरमा चलचित्रकर्मी, पत्रकार, सुरक्षाकर्मी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो।

सिनेमा ‘यो मन त मेरो नेपाली हो’ हेरेपछि निर्देशक तुलसी घिमिरेले सिनेमाले नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रयास प्रशंसनीय रहेको बताउँदै भने, ‘सिनेमाले नयाँ पुस्ता मात्र होइन, अहिलेको पुस्तालाई समेत नेपाली भाषाप्रति जिम्मेवार बनाउने सन्देश दिएको छ।’कलाकार राजाराम पौडेलले नेपालीपनले भरिएको कथा, देशभक्तिपूर्ण भावनाले भरिएको प्रस्तुति र नेपाली भाषाको महत्व झल्काउने प्रयासका कारण ‘यो मन त मेरो नेपाली हो’ हरेक नेपालीले हेर्नुपर्ने सिनेमा भएको बताए। निर्देशक अशोक शर्माले सिनेमाको तारिफ गर्दै यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे। लोकगायिका ज्योति मगरले सम्पूर्ण नेपालीले हेर्नुपर्ने सिनेमा बनेको भन्दै सिनेमाको विषयवस्तुमा प्रशंसा गरेकी थिइन्।

संचारकर्मी सुशील नेपालले विदेशमा हुँदा नेपाली भाषा, साहित्य, कला र देशको महत्व थाहा हुने हुँदा सिनेमाले यो सबै कुरा देखाउन खोजेको बताए। उनले राज्यले यस्ता सिनेमालाई कर छुट दिनुपर्ने सुझाव पनि दिए।

सिनेमाको प्रिमियर हेर्न पुगेका पत्रकार टिकाराम यात्री, लोकगायक बद्रि पगेनी, राधिका हमाल, नृत्य निर्देशक कमल राई, निर्देशक राजेन्द्र सलभ, सुर्य बोहरा, ऋषि लामिछाने, पूर्व सांसद महेन्द्र लिम्बु, सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल, निर्माता राजकुमार राई, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, कमेडियन दिनेश काफ्ले लगायतले सिनेमा ‘यो मन त मेरो नेपाली हो’ विश्वभर रहेका हरेक नेपालीले हेर्नुपर्ने सिनेमा बनेको बताएका थिए।सिनेमाका मुख्य कलाकारहरू विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुशा समाल, बुद्धि तामाङले प्रिमियरमा उपस्थितिले सिनेमाको खुलेर तारिफ गर्दा सिनेमा चल्नेमा आफूहरू ढुक्क रहेको बताए।

सिनेमाका निर्देशक मित्र प्रधान (नर) ले सिनेमाको प्रिमियरमा पाएको प्रतिक्रियाले आफूलाई हौसला मिलेको र साँच्चिकै देश र नेपाली भाषा, साहित्य, कलाको लागि सिनेमा निर्माण गरेको हुँदा सम्पूर्ण नेपालीलाई सिनेमा हलमा गएर सिनेमा हेरेर प्रतिक्रिया दिन अनुरोध गरे। सिनेमाको प्रिमियर हेर्न अमेरिकाबाट समाजसेवी तथा गीतकार पाँचम तामांग समेत नेपाल आएका थिए।पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको सिनेमा ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन्। सिनेमामा नारायण खाती, भुपेन्द्र लिङ्देन “मन्त्री”, सुबास भन्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजबंशी, भानुभक्त सिटौला लगायतको पनि अभिनय रहेको छ।

मित्र प्रधान (नर) को निर्देशन रहेको यस सिनेमामा शिवम् अधिकारीको लेखन रहेको छ। सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ। दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको सिनेमामा संगीत रहेको छ भने दीपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ। 

सम्बन्धित समाचारसबै