सिनेसुत्र, बिराटनगर- निर्देशक रुपेश तामाङले नयाँ सिनेमा ‘एक्का तीनः च्याप्टर एक’ को घोषणा गर्दै अभिनेत्री पूजा शर्माको लामो समयको प्रतिक्षामा पूर्णविराम लगाएका छन्। सन् २०२६ मा प्रदर्शन हुने यस सिनेमामा पूजा मुख्य भूमिकामा देखिने पक्का भइसकेको छ।
गत भदौमा रिलिज भएको ‘रावायण’ र त्यसअघि ‘दान्भी’ दुवै सिनेमाले अपेक्षाकृत सफलताको स्वाद नचाखेपछि पूजा केही समय ओझेलमा परेकी थिइन्। निर्माता र अभिनेत्री दुवैको भूमिकामा रहेको ‘रावायण’ ले उनीमाथि आर्थिक र मानसिक दबाब समेत थपिदियो। त्यसपछि करिब ११ महिना पूजाको कुनै ठूला प्रोजेक्टमा संलग्नता देखिएन।
यसबीचमा उनी ‘हली’ सिनेमाको एउटा प्रमोसनल गीतमा मात्र देखिइन्, जुन दर्शकको नजरमा खासै प्रभावकारी बन्न सकेन। ‘रावायण’ पछि उनको करियरमा कालो बादल मडारिएको चर्चा चलिरहेका बेला रेखा थापाले निर्माण गर्न लागेको ‘छत्तिस आँकडा’ मा अनुबन्ध भएर केही आशा जागेको थियो। तर त्यो योजना पनि रेखाले रोकेर ‘काली’ को सिक्वेलमा ध्यान दिँदै स्थगन गरिदिइन्। रेखाले पछिल्लो समय ‘भाइटीका’ सिनेमा साइन गरेपछि ‘काली’ को सिक्वेल पनि पछि सर्नसक्ने अनुमान गरिएको छ।
यिनै कारणहरूले गर्दा पूजा पुनः मुख्यधारको सिनेमामा फर्कन समय लाग्ने अनुमान गरिँदै आएको थियो। यद्यपि, अहिले घोषणा भएको ‘एक्का तीन’ ले भने उनको करियरलाई नयाँ दिशा दिन सक्ने सम्भावना देखिएको छ।
यो सिनेमा दर्शकको मन कत्तिको जित्छ, त्यो त हलमा पुगेर मात्रै थाहा हुनेछ। तर पूजा र उनका फ्यानहरूका लागि यो खबर निकै सुखद बनेको छ।
सिनेमा बाहेक पूजा व्यवसायमा पनि सक्रिय छन्। प्रेमी युद्ध बानियाँसँग मिलेर झम्सिखेलमा खोलेको ‘ट्याग’ रेस्टुरेन्ट अहिले खासै चर्चामा छैन। तर पर्दामा उनले पहिलो पटक ‘प्रेमगीत’बाट जुन लोकप्रियता कमाएकी थिइन्, त्यसले अझै पनि दर्शकको मायामा उनको नाम बाँधिराखेको छ।
‘एक्का तीन’को घोषणा मात्रले पनि उनका समर्थकहरूमा नयाँ आशा र उत्साह जगाएको छ। अब कुर्ने कुरा के मात्र हो भने, उनले पर्दामा पुनः त्यो पुरानो जादू देखाउन सक्ने कि नसक्ने !