देश दौडाहामा ‘यो मन त मेरो नेपाली हो’ टिम : सिनेमा हेर्दा हलमै रोए दर्शक

0 Shares

सिनेसुत्र, बिराटनगर- शुक्रवारदेखि प्रदर्शनमा आएको सिनेमा ‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकले मन पराएका छन्। सिनेमा हेरेर निस्किएका दर्शकले सिनेमाको खुलेरै तारिफ गरेका छन्। सिनेमाले नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवर्द्धन गर्ने प्रयास प्रशंसनीय काम गरेको भन्दै युवा पुस्ताले हेर्नै पर्ने सिनेमा भएको प्रतिक्रिया दिएका छन्।दर्शक भेट्न सिनेमाका कलाकारहरू रोशन श्रेष्ठ, बुद्धि तामाङ र निर्देशक मित्र प्रधान पूर्वका विभिन्न हलमा पुगेका छन्। दमकमा सिनेमा हेर्ने दर्शक बढेसँगै प्रतिक्रिया लिन सिनेमा युनिट पूर्व पुगेको हो। आइतबार बेलुका दमकको डी म्याक्स हलमा कलाकार पुग्दा हल हाउसफुल दर्शकले भरिएको थियो। सिनेमा हेरेर निस्किएका दर्शकले साँच्चिकै मन छुने सिनेमा बनेको भन्दै हेर्दा धेरै ठाउँमा आँसु खसेको बताएका थिए।‘यो मन त मेरो नेपाली हो’ हेर्न पुगेका चर्चित युट्युबर भाग्य न्यौपानेले सिनेमाले आफ्नो मन छोएको र निकै सुन्दर सिनेमा बनेको प्रतिक्रिया दिए। विशेष गरेर भुटानी नेपाली शरणार्थीहरूले सिनेमा हेरेपछि आफुलाई पुराना दिनहरूको याद आएको भन्दै भक्कानिँदै रोएका थिए। सिनेमा हेरेपछि धेरै दर्शक हलमै रोएका थिए। निर्देशक मित्र प्रधानले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया आउँदा आफुलाई हौसला मिलेको बताए।

सिनेमामा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल तथा बुद्धि तामाङको प्रमुख भूमिका रहेको छ। पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा तयार भएको यो सिनेमाका निर्माता ज्ञानबहादुर प्रधान र रोशन हुन्। मित्र प्रधान (नर) को कथा तथा निर्देशन रहेको सिनेमाको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन्।

सम्बन्धित समाचारसबै