तक्मेबुढा’को डेब्यु फिचर सिनेमा ‘मैझारो’ इलाममा कलाकारहरूको जम्बो टोली सहित छायांकन सुरु

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपालको पूर्वी पहाडी जिल्ला इलाममा नेपाली सिनेमा ‘मैझारो’को छायांकन साउन १ गतेदेखि औपचारिक रूपमा सुरु गरिएको छ। अभिनेता विल्सन विक्रम राई, जो ‘तक्मेबुढा’ नामबाट चर्चित छन्, निर्देशनमा डेब्यु गर्दै उक्त सिनेमा निर्माण सुरु गरिएको हो।

‘मैझारो’ सिनेमाको छायांकन इलाम र पाँचथर जिल्लाका विभिन्न स्थानहरूमा हुने बताइएको छ। सिनेमामा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई आधार बनाइएको निर्देशक राईले जानकारी दिए। सिनेमाको कथा, पटकथा र निर्देशन राई स्वयंले गरेका हुन्। सिनेमामा धिरज मगर, मिरुना मगर, दिया पुन, सुनिल थापा, कविता आले, पुस्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरी लगायत कलाकारहरूको अभिनय रहनेछ।

संगीत अनमोल गुरुङ र तोरेम्पा हाङ राईले संयोजन गर्ने सिनेमामा स्वर गायक राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू, अनमोल गुरुङलगायतले दिनेछन्। छायांकनको जिम्मा सौरभ लामाले सम्हालेका छन्।

‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण हुन लागेको यो पहिलो फिचर सिनेमा हो। यसअघिसम्म कम्पनीले हास्य तथा सांगीतिक सामग्री मात्रै निर्माण गर्दै आएको थियो। ‘मैझारो’मार्फत कम्पनीले फिचर सिनेमा तर्फ पाइला चालेको हो।

सम्बन्धित समाचारसबै