सिनेसुत्र, बिराटनगर- भदौ ६ गते रिलिज हुने सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’को टिजरले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। छोटो समयमा १२ लाखभन्दा धेरै दर्शकले युट्युबमा हेरेको टिजरले मन छोएको दर्शकले बताइरहेका छन्।
टिजर हेरेर युट्युबमा आएका कमेन्टमा टिजर राम्रो रहेको प्रतिक्रिया आएको देखिन्छ। “फिल्म असाध्यै राम्रो पटकथामा आधारित छ भन्नेमा पूर्ण विश्वास लागेको छ। जनै हराएको मान्छे सुपरडुपर हिट होस्। शुभेक्षा अनि शुभकामना,” टिजर हेरेर कबिन्द्र श्रेष्ठ नाम गरेका दर्शकले कमेन्टमा लेखेका छन्।
“यस्तै सामाजिक कथा र देशका जनताको बेथा दर्शाउने सिनेमा बनाए पो चल्छ त। सम्पूर्ण टिमलाई शुभकामना,” मोहित सिरपाइली नाम गरेका अर्का दर्शकले कमेन्ट गरेका छन्। धेरैले विजय बरालको अभिनयको तारिफ गरेका छन्। धेरै युवाको पैसा कमाउने आकर्षक गन्तव्य बनेको कोरियाको कथा टिजरमा उठान गरेको मन पराएका छन्।
यसरी आइरहेका प्रतिक्रियाप्रति निर्माण टिम उत्साहित छ। विषय छ र पात्र छनोटमा दर्शक सन्तुष्ट रहेकाले अब सिनेमा पनि त्यस्तै ल्याउनुपर्ने चुनौती रहेको निर्देशक हिमाल न्यौपानेले बताएका छन्। दर्शकले सिनेमा मन पराउने गरी आफूहरूले कथादेखि मेहनत गरेको उनको दाबी छ। कतार, दुबई, मलेसियाका धेरै कथा आइरहेका बेला कोरियाको कथा आउँदा प्रतिक्रिया हेर्दा यसले पनि उत्साह थपेको निर्देशक न्यौपाने बताउँछन्।
हिमाल न्यौपानेले निर्देशन गरेको ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा विजय बराल, केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, रेयर राई, रुपेश लामा, सुमन थापा लगायतको अभिनय छ।
सिनेमाको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । पेपरक्लिपको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्।
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। सिनेमामा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ। नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको सिनेमामा दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक, तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक छन्। सिनेमाका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।
सिनेमामा शाहिल खानको टिजर–ट्रेलर, सुप्रिम पराजुलीको कलर, सुनील क्षेत्रीको कोरियोग्राफी, चुल्ठे काजीको एक्सन निर्देशन, निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल रहेका छन्। ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्म्सले लिएको छ।
अल टाइम ब्लक बस्टर सिनेमा ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो सिनेमा हो। विजयले सोमबार ‘पूर्णबहादुरको सारंगी’बाट उत्कृष्ट अभिनेताको राष्ट्रिय सिनेमा अवार्ड समेत पाएका छन्।
वि.सं. २०८१ मा नेपाली सिनेमा उद्योगलाई ब्लकबस्टर सिनेमा दिने विजय र केकी ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को मुख्य भूमिकामा सँगै देखिँदै छन्। टिजर हेर्नुहोस :