म्युजिक भिडियो , टिक टक देखि सिनेमा सम्मको यात्रा, सयौँ म्युजिक भिडियो हुँदै ठूलो पर्दासम्म पुग्न गरेको संघर्ष र कथा
सिनेसुत्र, बिराटनगर- साउन २३ गते प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘सिटामोल’ बाट नयाँ कलाकार श्री कृष्ण निरौलाले नेपाली रजतपटमा डेब्यु गर्दै छन्। सिनेमामा उनको प्रमुख भूमिका रहेको छ। श्री कृष्ण निरौलाले यसअघि सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। उनको जन्म कोशी प्रदेशको तेह्रथुम जिल्लामा भएको हो। श्री कृष्णको परिवार तेह्रथुमबाट झापा हुँदै काठमाडौं बसाइँ सरेको थियो। उनले नर्सरीदेखि नै काठमाडौंमा अध्ययन गरेका हुन्। बाल्यकालदेखि नै पुराना सिनेमाहरू हेर्ने र आफू पनि ती सिनेमाका नायकजस्तै बन्ने सपना उनको बाल मस्तिष्कमा गढेको थियो।
१. तपाईँको कलाकारिता यात्रा कसरी सुरु भयो? बाल्यकालदेखि नै कलाकार बन्ने सपना थियो कि पछि जागृत भयो?
सानैदेखि मेरो मनमा सिनेमाप्रतिको गहिरो प्रेम थियो। कक्षा चार-पाँचमा पढ्दादेखि नै महानायक राजेश हमालका हरेक सिनेमा हेर्थेँ। स्कुलमा शिक्षकहरूले ‘बाबु तिमी के बन्छौ?’ भनेर सोध्दा म सधैँ ‘राजेश हमाल बन्छु’ भन्थेँ। धेरै मानिसको सपना समयसँगै बदलिन्छ, तर मेरो हकमा चाहिँ आज पनि म यही कलाकारितामा आफ्नो भविष्य देख्छु।
मैले औपचारिक रूपमा कलाकारिताको सुरुवात २०६२ सालमा कक्षा १० को अध्ययनपछि गरेँ। त्यसबेलाको चर्चित टेलिसिरियल ‘करुणा’ मा मेलिना मानन्धरसँग बालकलाकारको रूपमा अभिनय गर्ने मौका पाएँ। त्यसपछि प्रमोद खरेलको आवाजमा एउटा म्युजिक भिडियोमा २० हजार तिरेर अभिनय गरेँ। त्यो अनुभवले मलाई क्यामेरा चलाउन र एडिटिङ सिक्न प्रेरित गर्यो। आफ्नै निर्देशन र अभिनयमा शिव परियारको गीत ‘विष पिउन’ को म्युजिक भिडियो पनि बनाएँ। पछि आफ्नै युट्युब च्यानल खोलेर सर्ट फिल्महरू बनाउन थालेँ। सुरुवाती दिनहरूमा पुतलीसडकका हरेक स्टुडियो चहारेर ‘मलाई पनि खेलाउनुहोस्, म अभिनय गर्न चाहन्छु’ भन्दै पनि हिँडेँ। त्यही क्रममा एक जनाले अभिनय सिकाउँछु भन्दै १० हजार रुपैयाँ ठगीसमेत गरे। यी सबै आरोह-अवरोहलाई पार गर्दै आज २० वर्षपछि ‘सिटामोल’ मा प्रमुख भूमिकामा अभिनय गर्ने अवसर पाएको छु। यो मेरो लागि ठूलो उपलब्धि हो।
२. यो लामो यात्रामा कहिल्यै हरेस मान्नु भएन ? ‘अब चाहिँ हुँदैन कि’ भन्ने सोच कहिल्यै आएन?
दुःख धेरै गरियो, तर हरेस चाहिँ कहिल्यै खाइनँ। घरबाट भने सधैँ ‘सिनेमा भन्दै हिँड्छस्, विदेश जा’ भनेर दबाब आउँथ्यो। त्यो बेला मैले मोबाइल पसलसमेत खोलेँ, तर मेरो मन त सधैँ सिनेमामै थियो। त्यसैले त्यो पसल पनि डुब्यो। तैपनि हरेस नखाई म्युजिक भिडियोतिरै सक्रिय भएँ।
मेरो सोच र रहर त सधैँ सिनेमामा अभिनय गर्ने नै थियो। म्युजिक भिडियोबाट मैले राम्रै दर्शक कमाएको थिएँ, तर कसैले सिनेमाको लागि अफर गरेनन्। त्यसबेला मलाई के लाग्यो भने, यो क्षेत्रमा सिनेमा खेल्न कि त ‘बाउ’ हुनुपर्यो, कि आफैँले लगानी गर्नुपर्यो।तर मैले आफ्नै समकालीन साथीहरूले सिनेमामा लगानी गरेर डुबेको र यो क्षेत्रबाट पलायन भएको देखेको थिएँ, त्यसैले लगानी गर्ने हिम्मत आएन। तर मनमा एउटा कुरा चाहिँ सधैँ थियो – ‘यदि मैले मेहनत गर्दा गर्दै पनि सफल भइनँ भने, पछि पैसा कमाएर आफ्नै लगानीमा सिनेमा बनाउँछु र मेरा बालबच्चालाई चाहिँ देशले चिन्ने कलाकार बनाउँछु, तर यो क्षेत्र कहिल्यै छोड्दिनँ।’
३. टिकटकमा तपाईंको ‘लाज किन बाबा’ डाइलग भाइरल भयो। त्यसयता तपाईं चर्चित बन्नुभयो र कतिपयले तपाईंलाई टिकटकबाट आएको पनि भन्छन् नि?
यो क्षेत्रमा म निरन्तर लागेको २० वर्ष पुगिसकेको छ। कलाकार बन्नकै लागि कति दुःख र हन्डर भोगेको छु, तर पनि मेहनत गर्दै छु। ‘टिकटकबाट आएको’ भन्ने कुरा सही होइन। यसले मलाई केही दर्शकसमक्ष चिनाउन चाहिँ पक्कै मद्दत गर्यो। ‘लाज किन बाबा’ डाइलग भाइरल हुनुभन्दा अगाडि नै मेरो म्युजिक भिडियो ‘चाहिदैन तिम्रो माया’ दर्शकले निकै रुचाएर मिलियन भ्यूज पार गरिसकेको थियो।
त्यसपछि लकडाउनको समयमा नारी प्रधान कन्टेन्टहरू बनाउने क्रममा यो डाइलग निस्किएको थियो, जुन दर्शकले निकै मन पराउनुभयो। त्यसबेला त दिनहुँ १०-१५ जना सञ्चारकर्मी अन्तर्वार्ता लिन घरमै आउनुहुन्थ्यो। तर भिडियोका कमेन्टहरूमा ममाथि गालीको वर्षा थियो, ट्रोलहरूले गर्दा त्यसबेला म डिप्रेस्ड भएको थिएँ। मेरो टिकटक आइडी पनि उड्यो, फेरि अर्को आइडी बनाएँ, त्यसमा पनि राम्रै फलोअर पुगेका थिए, तर त्यो पनि तीन दिनमै उड्यो। त्यसपछि मैले ‘म यो टिकटकका लागि बनेको होइन’ भन्ने सोचेँ। तर केही दिनपछि फेरि टिकटक खोल्न मन लाग्यो र अर्को आइडी बनाएँ। अहिले त्यसमा दुई लाखभन्दा बढी फलोअर्स जोडिएका छन्।
४. सिनेमा ‘सिटामोल’ मा चाहिँ कसरी अवसर पाउनुभयो?
म्युजिक भिडियोकै एकजना साथीमार्फत ‘सिटामोल’ का निर्देशक राज बहादुर सानेलाई मेरो र केकी अधिकारीको अभिनय रहेको ‘चाहिदैन तिम्रो माया’ म्युजिक भिडियो देखाइएको रहेछ। राज बहादुर साने सरलाई मेरो काम मन परेछ। त्यसपछि उहाँले मलाई भेट्न बोलाउनुभयो र अडिसन लिनुभयो। केही अभिनयहरू गर्न लगाएपछि म ‘सिटामोल’ को लागि फाइनल भएँ। निर्देशक साने सरले मेरो अडिसन हेरिसकेपछि ‘हामीले खोजेजस्तै मान्छे पायौँ’ भन्नुभएको कुरा मलाई अझै याद छ। नेपालका चर्चित कलाकारहरू सौगात मल्ल र बेनिशा हमाल सँग स्क्रिन सेयर गर्दै छु भन्दा त त्यो बेला मलाई विश्वास नै लागेको थिएन।
५. ‘सिटामोल’ को सुटिङ भएको डेढ वर्षपछि मात्र रिलिज हुँदै छ। यो बीचमा कस्तो महसुस भयो?
अहो, त्यो समयमा त म निकै डिप्रेस्ड थिएँ। जीवनको पहिलो सिनेमा, त्यो पनि रिलिज हुने कुनै अत्तोपत्तो थिएन। टिमसँग बुझ्दा ‘पैसा नै छैन’ भन्नुहुन्थ्यो। त्यो बीचमा सिनेमा हेरेर सिमोस सुनुवार दाइले ४०-५० लाख दिनुभएको भन्ने सुनेँ, त्यसपछि मात्र सिनेमा प्रदर्शन हुने भएको हो। अहिले चाहिँ अलिक ढुक्क छु।
६. ‘सिटामोल’ मा तपाईँको पात्र कस्तो छ र स्क्रिन टाइम कति छ?
मेरो पात्र सिनेमाको इन्टरभलपछि प्रवेश गर्छ र अन्त्यसम्म रहन्छ। यो सिनेमाको एउटा मुख्य पात्र हो, जसले गर्दा कथा अगाडि बढिरहेको हुन्छ। सायद यो पात्र नभएको भए कथाले पूर्णता पाउँदैनथ्यो होला।
७. सिनेमामा तपाईँको पात्र एन्टागोनिस्ट हो ?
होइन, मैले निभाएको पात्र एकदमै सकारात्मक छ। सिनेमाभित्र मैले निभाएको सहयोगी भावना भएको कथा संग बग्ने एक प्रमुख पात्र हो र अरु पनि पात्र बिशेष धेरै रोचक कुराहरु छ त्यो थाहा पाउन चाहि साउन २३ गत्ते सिनेमा नै हेर्नु पर्छ ।
८. यो सिनेमा रिलिज भएपछि के गर्नुहुन्छ? यदि दर्शकले तपाईँलाई रुचाउनुभएन भने वा अरू सिनेमाको प्रस्ताव आएन भने के गर्नुहुन्छ?
आज ३३ वर्षको उमेरसम्म मैले यो क्षेत्रलाई आफ्नो जीवन दिएको छु। यदि म सफल हुन सकिनँ, दर्शकले मलाई रुचाउनुभएन भने पनि म अझै निखारिएर दर्शकमाझ आउने छु। तपाईंले भनेजस्तै केही कारणवश म कलाकारितामा सफल भइनँ भने चाहिँ म निर्माता बन्छु र सिनेमा निर्माणमा अघि बढ्छु, तर मेरो जीवनको अन्त्यसम्म पनि यो क्षेत्रबाट टाढा हुने छैन।
‘सिटामोल’ सिनेमामा बिम्बात्मक रूपमा नेपाल र आम नेपालीको जनजीवनलाई चित्रण गर्दै परापूर्वकालदेखि नेपाली समाजमा जरो गाडेका कुसंस्कारहरूको चिरफारसँगै सामाजिक समस्याहरूको उठानको कथा समेटिएको छ।
राज बहादुर सानेको निर्देशनमा तयार भएको यस सिनेमामा श्री कृष्ण निरौलासँगै अभिनेत्री जानुका विश्वकर्मा ले पनि नेपाली रजतपटमा डेब्यु गर्दै छिन्। सिनेमामा नेपालका चर्चित कलाकारहरू सौगात मल्ल र बेनिशा हमाल का साथमा लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल तथा बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डीसी को अभिनय रहेको छ।
प्रकाशक : विकल श्रेष्ठ