सशान कँडेलको निर्देशनमा होस्टेल’ सिरिजको नयाँ अध्याय ‘होस्टेल अगेन’ निर्माणको घोषणा

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा क्षेत्रमा नयाँ पुस्ताका कलाकारहरूलाई स्थापित गर्दै आएको सफल सिनेमा शृङ्खला ‘होस्टेल’ को तेस्रो भाग ‘होस्टेल ३’ को सफलतापछि सोही निर्माण समूहले नयाँ सिनेमा ‘होस्टेल अगेन’ घोषणा गरेको छ। आज सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको मिनिमल पोस्टरले सिनेमा को विषयवस्तुलाई प्रस्ट पार्न खोजेको छ।पोस्टरमा रगत लतपतिएको चक्कुले गुलाबको फूललाई थिचेको देखिनुले यो सिनेमा ‘होस्टेल’ सिरिजका अघिल्ला टीनएज ड्रामाहरूभन्दा फरक, थ्रिलर वा सस्पेन्स श्रेणीको हुने देखाउँछ। चक्कु र गुलाबको संयोजनले प्रेम र द्वन्द्वको मिश्रणलाई दर्साउँछ। ‘होस्टेल’ को नाम भए पनि ‘अगेन’ थपिनु र पोस्टरको प्रकृतिले ‘होस्टेल ३’ बाट कथावस्तुको निरन्तरता छ वा छैन भन्ने स्पष्ट नभए पनि यसले ‘होस्टेल’ ब्रान्ड अन्तर्गतकै अर्को कथालाई प्रस्तुत गर्ने अनुमान गर्न सकिन्छ। पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले गरेका हुन्।यस सिनेमा मा ‘होस्टेल ३’ का निर्देशक सशान कँडेल, लेखक माधव शर्मा, निर्माण कम्पनीहरू सम्मान इन्टरटेन्मेन्ट र आरोन कन फिल्म्स एवम् कार्यकारी निर्माता शङ्कर कोइराला दोहोरिएका छन्। स्मरण रहोस्, सशान कँडेलले पहिलो पटक निर्देशन गरेको ‘होस्टेल ३’ ले सिनेमा हलमा लगातार ५१ दिनको सफल प्रदर्शन गरेको थियो।‘होस्टेल’ का अघिल्ला शृङ्खलाहरू जस्तै तेस्रो शृङ्खला पनि नयाँ पुस्ताका कलाकारहरूका लागि ‘विश्वविद्यालय’ साबित भएको थियो, जसबाट पारस बम ‘कुलब्वाय’, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली, सन्तोष बानियाँ, उमर खानलगायतका कलाकारहरूले दर्शकमाझ राम्रो पहिचान बनाए।

नेपाली सिनेमा मा नयाँ प्रतिभाहरूलाई अवसर दिने र बक्स अफिसमा सफल हुने क्रममा रहेको यसै परम्परालाई ‘होस्टेल ३’ ले पनि निरन्तरता दियो र अब ‘होस्टेल अगेन’ ले पनि नयाँ प्रतिभाहरूलाई जन्माउने अपेक्षा गरिएको छ।‘होस्टेल’ सिरिज, जसको पहिलो भाग २०७० मा हेमराज बिसी र दोस्रो भाग ‘होस्टेल रिटर्न्स’ २०७२ मा सुरज भुसालले निर्देशन गरेका थिए। ‘होस्टेल ३’ गत वर्षको फागुन २३ गते रिलिज भएको थियो। ‘होस्टेल अगेन’ छायाङ्कन छिट्टै सुरु हुने बताइएको छ।

यसअघि यही समूहले ‘बाउ भर्सेज छोरा’ नामक सिनेमा पनि घोषणा गरेको थियो, तर कलाकारहरूको समय व्यस्तताका कारण उक्त सिनेमा अर्को वर्षलाई सारिएको निर्देशक कँडेलले बताए।

 

सम्बन्धित समाचारसबै