सिनेसुत्र, बिराटनगर- यही श्रावण १६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘रियाल रिङ्गेट’ ले प्रदर्शन पूर्वको प्रचारमा विशेष जोड दिइरहेको छ। सिनेमाको प्रचार टोली अहिले काठमाडौं उपत्यकाभित्रका विभिन्न क्याम्पसहरूमा पुगेर फरक शैलीमा प्रचार अभियान सञ्चालन गरिरहेको छ।
क्याम्पस क्याम्पसमा भइरहेको यो प्रचारमा सिनेमाका निर्देशक विभोर पोखरेल, चर्चित गायक रामचन्द्र काफ्ले, लोकप्रिय कवि नाथन रायन, कलाकारहरू प्रमोद चौलागाईं, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायतको सक्रिय सहभागिता रहेको छ। उनीहरू हालसम्म विनायक सिद्ध कलेज, द इनसाइट भिजन एसएस कलेज, साइपाल एकेडेमी लगायतका शिक्षण संस्थामा पुगेका छन्।
यो प्रचार अभियानको विशेषता भनेको कविता र गीतको संयोजन हो। कवि रायनले आफ्नै लेखनका मार्मिक कविताहरू प्रस्तुत गर्दा गायक काफ्लेले त्यसमा सङ्गीत र स्वरको स्पर्श थपेर विद्यार्थीहरूलाई भावनात्मक रूपमा छोइरहेका छन्। विद्यार्थीसँग प्रत्यक्ष संवाद, कविता वाचन र गीतमार्फत सिनेमाको सन्देशलाई प्रभावकारी रूपमा प्रस्तुत गरिँदैछ।
कवि रायनले सिनेमा ‘रियाल रिङ्गेट’ का लागि विशेष कविता रचना तथा वाचनसमेत गरेका छन्, जुन सिनेमामा पनि समावेश छ। नेपाली सिनेमामा कमै मात्र प्रयोग हुने कविता विधालाई यस सिनेमाले विशेष प्राथमिकता दिएको देखिन्छ।
यसैबीच, सिनेमाको ट्रेलर पनि सार्वजनिक भइसकेको छ, जसमा वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूले भोग्नुपरेका सङ्घर्ष र पीडाको चित्रण देखाइएको छ। निर्देशक विभोर पोखरेलका अनुसार, सिनेमाले नेपाली श्रमिकहरूको वास्तविक कथा बोल्ने प्रयास गरेको छ। सिनेमाको नाम ‘रियाल रिङ्गेट’ नै कतार, साउदी अरब र मलेसिया जस्ता नेपालीका प्रमुख श्रम गन्तव्य राष्ट्रहरूलाई सङ्केत गर्छ।
सिनेमामा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला लगायतका कलाकारको अभिनय छ भने सङ्गीतमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको योगदान रहेको छ। ट्रेलर हेर्नुहोस : 