सिनेसुत्र, बिराटनगर- अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्ने सिनेमा ‘सुख दुःख’ मा मिथिला शर्मा अनुबन्ध भएकी छन्। उनलाई निर्देशक तथा निर्मात्री समेत रहेकी अधिकारीले सिनेमाका लागि अनुबन्ध गरेकी हुन्। आइतबार निर्माण पक्ष र अभिनेत्री शर्माबीच कागजी सम्झौता भएको हो।
अभिनेत्री शर्मालाई अनुबन्ध गर्दै नीताले भनिन्, ‘सिनेमा सुख दुःख मा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित छौं। सायद हजुरबिना यो सिनेमा अपुरो हुन्थ्यो। अब पूर्ण हुने बाटोमा जाँदैछ।’
यसअघि यो सिनेमा लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाल डिओपीका लागि अनुबन्ध भइसकेका छन्। उनीहरु बाहेक यो सिनेमाको मुख्य कलाकार को रहने हुन् भन्नेबारे निर्माण पक्षले खुलाएको छैन। नीताले मुख्य कलाकारको बारेमा केही सातापछि जानकारी दिने बताइन्।
नीता ढुङ्गानाको डेब्यु निर्देशन रहने यस सिनेमाको निर्माण व्यवस्थापनको जिम्मा शंकर पाण्डेलाई दिइएको छ। निर्देशक ढुङ्गानाले अन्य कलाकारहरुको बारेमा जानकारी सार्वजनिक गरेकी छैनन्। ‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो सिनेमा आगामी वर्ष दसैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षको छ।
यस सिनेमाको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ।

