कमेडी दरबार टिमले सिनेमा ‘क का कि की’ निर्माणमा गर्ने घोषणा: पोस्टरमा तृप्ति, रेखा, गौरी र महेश

0 Shares

सिनेसुत्र, बिराटनगर- चर्चित हास्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’को टिमले निर्माण गर्ने नयाँ नेपाली सिनेमा ‘ककाकिकी’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। सोमवार निर्देशकद्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईँले सिनेमाको पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै यसको घोषणा गरेका हुन्।

पोस्टरमा प्रमुख चार पात्रहरूलाई आक्रोश, अचम्म र हास्य मिश्रित मुद्रामा प्रस्तुत गरिएको छ। पोस्टरमा देखिएका कलाकारहरूमा गम्भीर हास्यभाव देखिने पुरुष पात्रसँगै अभिनेत्री तृप्ति नाडकर, रेखा थापा, गौरी मल्ल र महेश त्रिपाठी रहेका छन्। यो सिनेमाबाट ‘कुसुमे रुमाल’ फेम्ड अभिनेत्री तृप्ति नाडकरले कमब्याक गर्दैछिन्। नाडकरले पछिल्लो पटक सन् २०११ मा रिलिज भएको सिनेमा ‘मेरो लभ स्टोरी’*मा अभिनय गरेकी थिइन्।पोस्टर शेयर गर्दै निर्देशक अग्रवालले लेखेका छन्, “केही शब्द संसारकै सबैभन्दा भाग्यमानी व्यक्तिको तर्फबाट जसले आफ्नो फिल्मी करिअरको सुरुआत नै अग्रजहरूसँग सहकार्य गर्ने उत्कृष्ट अवसर पाएको छ।” उनले ‘कमेडी दरबार’ टिम अब टेलिभिजन मात्र नभई सिनेमा हलसम्म दर्शकको हाँसो ल्याउने उद्देश्यमा अघि बढेको उल्लेख गर्दै भनेका छन्, “सबैले भन्छन् कि हाम्रो सिनेमा अरूभन्दा फरक छ, तर यो सिनेमाले कमेडीको फरक स्वाद अवश्य दिन्छ भन्ने दृढ आशा छ।”

श्रद्धा प्रसाईँ र सुमित्रा थापाले निर्माण गर्ने यस सिनेमामा निर्देशकद्वयकै कथा र परिकल्पना रहेको छ भने ‘कमेडी दरबार’ टिमले सिनेमालाई हास्यरसले भरिपूर्ण बनाएको जनाइएको छ। सिनेमामा विशेष उपस्थितिका रूपमा प्रकाश पौडेल, ओमकार अदी, अंश बुढाथोकी लगायतका कलाकार पनि देखिनेछन्।यस सिनेमालाई विकास अर्याल, सरोज भण्डारी र बिक्की अग्रवालले संयुक्त लेखन गरेका छन्। सिनेमाको पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले सम्हालेका छन्। सिक्किमको सानो गाउँबाट सुरु भएको बिक्की अग्रवालको यात्रा यस सिनेमामार्फत मुख्यधारको नेपाली सिने उद्योगसम्म पुगेको छ।

यस यात्रामा आफूलाई साथ दिने सबैप्रति आभार प्रकट गर्दै उनले लेखेका छन्, “मेरो सम्पूर्ण ‘कमेडी दरबार’ टिम, हामीमाथि विश्वास गर्नुहुने आदरणीय गौरी दिदी, रेखा दिदी, तृप्ति दिदी, महेश दाइ र बिर्सन नहुने ओमप्रकाश दाइप्रति विशेष आभार व्यक्त गर्दछु। साथै, मेरो प्यारो परिवार, श्रद्धा प्रसाईँ र आमाको अमूल्य आशीर्वादप्रति पनि सदैव कृतज्ञ छु।”

सम्बन्धित समाचारसबै