भदौ १२ मा रिलिज हुँदै ‘कोशेढुङ्गा’ : ‘नत्र भने जिन्दगी व्यर्थ छ’ तीज गीतको ट्रेन्डले सिनेमा प्रति बढायो प्रतीक्षा

0 Shares

सिनेसुत्र, बिराटनगर-  सिनेमा ‘कोशेढुङ्गा’ को तीज गीत सार्वजनिक भएसँगै लोकप्रियता कमाउन थालेको छ । डान्सिङ नम्बर ‘नत्र भने जिन्दगी व्यर्थ छ’ छोटो समयमा नै सामाजिक सञ्जालमा भाइरल भएको हो । निर्देशक सरोज पौडेलका अनुसार, अहिले सम्म यो गीतमा २० हजारभन्दा धेरै टिकटक भिडिओ बनिसकेका छन् । गीत युट्युबमा १० लाखभन्दा बढी दर्शकले हेरेका छन् भने फेसबुकमा ७० लाखभन्दा धेरै भ्यूज भइसकेको निर्माणपक्षको दाबी छ ।

“नेपाली संस्कृति जोगाउने प्रयासस्वरूप सभ्य र भव्य गीत दर्शकमाझ ल्याएका थियौँ,” निर्देशक पौडेल भन्छन्, “हाम्रो अपेक्षा अनुसार दर्शकले अत्यन्त राम्रो साथ दिनुभएको छ, अहिले पनि दैनिक हजारौँ भिडिओ बन्ने क्रम जारी छ ।”

गीतमा नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको हुकलाइन तथा संगीत रहेको छ । स्वर खेम सेन्चुरीसँगै समीक्षा अधिकारी र दीपिका बयम्बु मगरले दिएका छन् । तीजको परिवेशमा आधारित यो गीत सिनेमा भित्रकै हो । विवाहित र अविवाहित महिलाबीचको भावनात्मक भिन्नता गीतमा समेटिएको छ । विवाहितको प्रेम भावनालाई ऋचा शर्माले व्यक्त गरेकी छन् भने अविवाहितको पक्षबाट सुरक्षा पन्त र नीति शाहले उत्सुकता र परिकल्पना प्रस्तुत गरेकी छन् ।गीतको लोकप्रियतासँगै निर्माणपक्षले “नत्र भने जिन्दगी व्यर्थ छ” टिकटक प्रतिस्पर्धा घोषणा गरेको छ । अगस्ट २० सम्म टिकटक बनाउने सहभागीले #NatraBhaneJindagiByarthaCha ह्यासट्याग प्रयोग गर्नुपर्नेछ । प्रतिस्पर्धामा बेस्ट पर्फमेन्स लाई ३० हजार, मोस्ट क्रिएटिभ भिडिओ लाई २० हजार र मोस्ट लाइक भिडिओ लाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

सरोज पौडेलको निर्देशन रहेको सिनेमा ‘कोशेढुङ्गा’ आगामी भदौ १२ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । यसअघि ‘पूर्ण बहादुरको सारंगी’ निर्देशन गरेका पौडेलको यो दोस्रो निर्देशन हो, जसका कारण पनि ‘कोशेढुङ्गा’ प्रति दर्शकको अपेक्षा उच्च रहेको छ ।

नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्यमा बनेको यस सिनेमामा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मञ्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायत कलाकारको अभिनय रहेको छ ।निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन् । सिनेमा बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत तथा सुवलमणि सापकोटाको कास्टिङ डाइरेक्शनमा तयार भएको हो ।

विशेष कुरा के छ भने, ‘कोशेढुङ्गा’ एकसाथ नेपालसहित ४२ भन्दा धेरै देशमा रिलिज हुँदैछ । यसलाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनल ले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ ।

नेपालको सिने इतिहासमै पहिलो पटक यति धेरै देशमा एकैपटक सिनेमा रिलिज हुने भएकाले ‘कोशेढुङ्गा’ ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा गरिएको छ । भिडियो हेर्नुहोस :

सम्बन्धित समाचारसबै