सिनेसुत्र, बिराटनगर- कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई पर्दामा उतार्ने उद्देश्यसहित ‘रेलको बाटो’ नामक नयाँ नेपाली सिनेमा बन्ने भएको छ। कस्तुरी प्रोडक्सन प्रालिको निर्माणमा र रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा बन्ने यो सिनेमाको कथा तथा निर्देशन लक्ष्मण सुनारले गर्नेछन्।
सिनेमाको औपचारिक घोषणा गर्दै निर्माण टिमले विषयवस्तु झल्किने पोस्टर सार्वजनिक गरेको छ। पोस्टरमा “गाउँपालिका भवन उद्घाटन” लेखिएको गेट र “प्रधानमन्त्रीको ज्युलाई स्वागत छ” भन्ने ठूलो ब्यानर देखिन्छ। यसले कर्णाली राज्यलाई केवल ‘दर्शनीय प्रयोगशाला’ बनाइयो कि भन्ने आलोचनात्मक संकेत दिन्छ।
संगीत सुरज पण्डितले तयार पार्ने छन्, छायांकन निसाल पौडेलले गर्नेछन्, र पोस्टर राकेश दाहालले डिजाइन गरेका हुन्। सिनेमाका कार्यकारी निर्माता नगेन्द्र घिमिरे हुन् भने वितरण अधिकार काफिया फिल्म्सले लिएको छ।
सार्वजनिक पोस्टरमा देखिएको “लैजा तेरो सिंहदरबार, मलाई मेरो गाउँ फिर्ता दे” भन्ने वाक्यले राज्यको उपेक्षामाथि गहिरो भावनात्मक र राजनीतिक सन्देश दिएको छ। निर्देशक सुनारका अनुसार, यो सिनेमा सामान्य नागरिकको संघर्ष, श्रीमान्–श्रीमतीबीचको सम्बन्ध, र राजनीतिक बेवास्तालाई कथानकको मूल विषय बनाउनेछ।
कर्णाली क्षेत्रका सडक अभाव, उपचारको कठिनाइ, विकास योजनामा हुने हस्तक्षेप र शक्ति केन्द्रको नजरन्दाज जस्ता यथार्थहरू सिनेमाको प्रमुख कथावस्तु हुने जनाइएको छ। यो सिनेमा २०८२ सालको अन्त्यतिर कर्णालीका विभिन्न जिल्लामा छायांकन गरिने र २०८३ सालमा प्रदर्शनमा ल्याइने लक्ष्य छ।
अहिले पटकथा अन्तिम चरणमा रहेको र कलाकार छनोटको काम चाँडै टुंगो लाग्ने निर्माण पक्षले जानकारी दिएको छ। यसअघि सार्वजनिक भएको ‘रेलको बाटो’ शीर्षकको म्युजिक भिडियोले उल्लेखनीय चर्चा बटुलेको थियो। निर्माण टिमका अनुसार, अब सोही नामको सिनेमा मार्फत “दुरदराजको पीडा र कहिल्यै नआउने रेलजस्तो आशा”लाई पर्दामा जीवन्त ढंगले उतार्ने प्रयास हुनेछ।
