कामेश्वरदेखि सरिता गिरीसम्म: ‘अभिमन्यु : च्याप्टर-१’को नयाँ पोस्टरमा खुसी र तनाव

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ पोस्टरमा खुसी र तनाव देखिएको छ। खुसी र तनाव सञ्चार गर्ने कलाकारहरूको भावसहितको पोस्टर सार्वजनिक भएको हो। निर्माणपक्षले आज सार्वजनिक गरेको पोस्टरमा सिनेमाका शीर्ष ६ पात्र छन्, जसको शीर्ष स्थानमा कामेश्वर चौरसिया छन्। लामो कपाल र दारीमा रहेका उनको चेहरामा खुसी झल्किएको छ।

पोस्टरमा देखिएका अन्य कलाकारहरूमा शिशिर वाङ्देल, प्रकाश दाहाल, गौमाया गुरुङ, लक्ष्मी बर्देबा र सरिता गिरी छन्। प्रकाश, गौमाया र लक्ष्मी केही तनावमा देखिन्छन्। यस पोस्टरमा पनि सरकारी कार्यालय छुटेको छैन , मोरङको जिल्ला कारागार स्पष्ट देखिन्छ। अर्को एक सरकारी कार्यालय पनि देखिएको छ, तर कुन हो भन्ने खुलाइएको छैन।पोस्टरमा गरिएको रङ संयोजन र कलाकारको अनुहारले आँट, तनाव र गञ्जागोलको संकेत गरेको छ। तर त्यो किन हो भन्ने स्पष्ट छैन। पैसा, सम्बन्ध, विश्वास — जे सुकै कारण हुनसक्ने अनुमान गर्न सकिन्छ। यसअघि सोमबार ‘अभिमन्यु : च्याप्टर-१’ का दुईवटा पोस्टर सार्वजनिक भएका थिए। ती पोस्टरहरूमा पनि खुसी र तनावको मिश्रण देखाइएको थियो।

सिनेमा ‘अभिमन्यु : च्याप्टर-१’ भदौ २७ गते प्रदर्शनमा आउँदैछ। हिन्दी भर्सन असोज ६ (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ। हिन्दी संस्करण वर्ल्डवाइड रिलिज हुने जानकारी निर्माता विनोद पौडेलले दिएका छन्।

सिनेमाले पैसाको प्रलोभनमा फस्ने र त्यहाँबाट उम्कन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ। पोस्टप्रोडक्सनमा रहेको सिनेमा ‘अभिमन्यु : च्याप्टर-१’ मा मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन्।सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको यो सिनेमालाई सुशान्त गौतमले निर्देशन गरेका छन्। यो उनको डेब्यु निर्देशन हो। मुकेश खनालको लेखन रहेको सिनेमाका क्रिएटिभ निर्देशक मदन थापा हुन्। ‘अभिमन्यु : च्याप्टर-१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माताको रूपमा रहेका छन्।

कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन्। जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस सिनेमामा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग संयोजन, मदन घिमिरे सम्पादक र शरद महतो डिओपी रहेका छन्।

सम्बन्धित समाचारसबै