सिनेसुत्र, बिराटनगर- यम शेर्पाको निर्देशनमा तयार भइरहेको सिनेमा ‘मिरमिरे’ले रिलिज डेट लक गरेको छ। निर्माण पक्षले माघ १ गतेलाई प्रदर्शन मिति तय गरेको हो। यो मिति नायिका सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर चयन गरिएको हो। छायांकनको सेटबाटै निर्माण पक्षले रिलिज मिति सार्वजनिक गरेको हो।
निर्देशक यम शेर्पाले भने, “हामीले माघ १ गते आउने निर्णय गर्यौँ । वितरक र प्रदर्शकसँगको सल्लाहमा माघ १ तय गरेका हौँ । हाल सिनेमा मकवानपुरको चित्लाङमा छायांकन भइरहेको छ। असार २१ गतेदेखि सुरु भएको सुटिङ अबको करिब दुई सातामा सम्पन्न हुने बताइएको छ। सिनेमाको अधिकांश छायांकन काभ्रेपलाञ्चोकमा र केही दृश्य चित्लाङमा खिचिएको हो ।
यार्सा फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु मुख्य भूमिकामा छन्। अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा छन् भने बाल कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन्।
दयाहाङ र प्रकाश सपूतको यो पहिलो सहकार्य हो भने यम शेर्पाले दयाहाङसँग यसअघि ‘कार्साङ’ मा काम गरिसकेका छन्। ‘मिरमिरे’को कथा पनि यम शेर्पा स्वयंले लेखेका हुन्। सिनेमाका छायाँकार आलोक शुक्ला हुन्। निर्मातामा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा छन् भने सह – निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन्।
कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल हुन्। बिरेन्द्र शाही लाइन प्रोड्युसर, सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । सिनेमाको देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।