सिनेसुत्र, बिराटनगर- यसै साता प्रदर्शनमा आएको नेपाली सिनेमा ‘रियाल रिङ्गेट’को प्रदर्शन स्थगित गर्ने निर्णय गरिएको निर्माता गगनलाल प्रधानले बताएका छन्। भोलि सोमबारदेखि नेपालभरका सबै हलहरूमा सिनेमा प्रदर्शन स्थगन गरिएको उनले एक विज्ञप्ति जारी गर्दै जनाएका छन्।
रेबेल फिल्म्स प्रा.लि. द्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा सिनेमालाई उचित समय नदिईकन, मात्र अप्रभावकारी समयमा प्रदर्शनको मौका दिइएको कारण दर्शकमाझ प्रभावकारी ढङ्गले प्रस्तुत गर्न नसकिने अवस्था आएको उल्लेख गरिएको छ।
“दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त हुँदा हुँदै र हललाई बारम्बार अनुरोध गर्दा पनि उपयुक्त शोको बारेमा बेवास्ता गरिएको कारण हामीले प्रदर्शन स्थगित गर्ने जस्तो कठोर निर्णय लिन बाध्य भयौँ,” निर्माता प्रधानले बताए। सिनेमा निर्माणमा गरिएको परिश्रम, मेहनत र लगानीअनुसार प्रदर्शन समय नपाएकै कारण सिनेमा हलबाट निकाल्नुपरेको पनि विज्ञप्तिमा जनाइएको छ।
रेबेल फिल्म्सले यस निर्णयबाट उत्पन्न असुविधाप्रति दर्शक वर्गसामु क्षमा याचना व्यक्त गरेको छ। विभोर पोखरेलले निर्देशन गरेको सिनेमा ‘रियाल रिङ्गेट’ले खाडी मुलुकहरूमा रोजगारीको सिलसिलामा गएका नेपालीहरूको जीवन भोगाइलाई पर्दामा उतारेको छ।
सिनेमाको प्रमुख भूमिकामा प्रमोद चौलागाईं र निता ढुङ्गाना छन्। छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायतको पनि अभिनय रहेको छ।