सिनेसुत्र, बिराटनगर- अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको सिनेमा ‘सुख दुःख’मा विपना थापा अनुबन्धित भएकी छन्। उनलाई निर्माण टिमले बुधबार अनुबन्ध गरेको हो।
यसअघि नीता र विपनाले सिनेमा ‘ह्रस्वदीर्घ’मा सहकार्य गरेका थिए। यो उनीहरुको दोस्रो सहकार्य हो। विपनाले सिनेमा ‘सुख दुःख’मा आफु पनि जोडिन पाउँदा एकदम खुसी लागेको बताईन्। उनले सिनेमाको कथाले नै आफुलाई मन छोएको र नीताको निर्देशनमा बन्न लागेको सिनेमामा काम गर्न पाउदा असाध्यै उत्साहित भएको बताईन्।
नीताले पनि आफ्नो सिनेमामा विपनालाई अनुबन्ध गर्न पाउँदा असाध्यै खुसी भएको बताईन्। उनका अनुसार यो सिनेमामा विपनाको महत्वपुर्ण भुमिका रहेको छ। नीताले यसअघि यो सिनेमाका लागि कलाकारका रुपमा मिथिला शर्मा, मदनकृष्ण श्रेष्ठ अनुबन्ध गरिसकेकी छन्। यस सिनेमाको अन्य कलाकार र प्राविधिक पक्षको बारेमा विस्तारै जानकारी दिदै जाने निर्देशक अधिकारीको भनाई छ।
आगामी फागुनबाट छायांकनमा जाने यो सिनेमालाई चर्चित भारतिय छायांकार कवीरलाल र शाहिदलालले छायांकन गर्दैछन्। ‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो सिनेमा आगामी वर्ष दसैंको फूलपातीबाट प्रदर्शनमा आउदैछ। यो सिनेमाको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ।