नीता ढुङ्गानाको ‘सुख दुःख’मा बलिउड स्टार दिपराज राणा अनुबन्धित

0 Shares

सिनेसुत्र, बिराटनगर- सन् २००२ मा भारतीय सिनेमा साथियामा सहायक अभिनेताका रूपमा आफूलाई स्थापित गरेका बलिउड अभिनेता दिपराज राणाले नेपाली सिनेमा सुख दुःखमा अभिनय गर्ने भएका छन्। उनलाई सिनेमाका लागि यस सिनेमाकी अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको टिमले अनुबन्ध गरेको हो।

सिंघम रिटर्न्स, प्रेम रतन धन पायो, दबंङ ३ लगायत पछिल्लो समय मेट्रो इन डिनो, बिल्ली उस्ताद, सितारे जमीं पर जस्ता सिनेमामा अभिनय गरेका दिपराजले नेपाली सिनेमा कोहिनूरमा समेत अभिनय गरेका थिए। स्व. श्रीकृष्ण श्रेष्ठको उक्त सिनेमामा अभिनय गरेको लामो समयपछि उनी पुनः नेपाली सिनेमामा देखिन लागेका हुन्।नीताको निर्देशनमा बन्ने सिनेमा सुख दुःखको कथा मन परेको कारण आफू यस सिनेमामा काम गर्न इच्छुक भएको उनको भनाइ छ। निर्माण पक्षका अनुसार, सिनेमाको कथा सुनेपछि दिपराज भावुक बनेका थिए। तर, उनको भूमिकाबारे निर्माण पक्षले खुलासा गरिसकेको छैन।

आगामी फागुनदेखि छायांकन सुरु गर्ने तयारीमा रहेको यस सिनेमाका लागि निर्माण टिमले हालै विपना थापालाई पनि अनुबन्ध गरेको छ। यसअघि नीता र विपनाले सिनेमा ह्रस्वदीर्घमा सहकार्य गरेका थिए। यो उनीहरूको दोस्रो सहकार्य हो।सिनेमामा दिपराज, विपना बाहेक मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठ अनुबन्ध भइसकेका छन्। अन्य कलाकारबारे भने निर्माण टिमले खुलासा गरेको छैन। सिनेमाको छायांकनका लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाललाई अनुबन्ध गरिएको छ। नीता फिल्म्सको ब्यानरमा बन्ने यो सिनेमा आगामी वर्ष दसैंको फूलपातीबाट प्रदर्शनमा आउने तयारीमा छ।

सिनेमाको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले वितरण गर्नेछ।

सम्बन्धित समाचारसबै