‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक – कोरिया जाने सपना र ठगीको कथा

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक भएको छ । जनै पूर्णिमाको अवसरमा आज काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै निर्माणपक्षले सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यसका लागि सिनेमाको मुख्य पात्रले गर्ने संघर्ष देखाइएको छ । ट्रेलरमा कोरिया जान मुख्य पात्रले गरेको संघर्ष, काठमाडौंमा आएपछि ठगिएको कथा र त्यसपछि परिवन्धमा परेर गरेका अनेक काम र हन्डर समेटिएको छ ।

सिनेमाका मुख्य पात्र विजय बराल बाउले लिएको ऋण चुक्ता गर्न कोरिया जानेभन्दै घरबाट हिँडेपछि कसरी काठमाडौंमा अड्किन्छन्, बाउलाई पक्कि घरको छानामुुनि बास बसाउन देखेको सपना पूरा गर्ने रहरमा आफ्नै जिन्दगी अरूको बन्दकमा राख्नु परेको बाध्यात्मक अवस्था ट्रेलरमा देखाइएको छ ।कोरिया जान नसकेपछि काठमाडौं छटपटिएर बसिरहँदा भेटिने मिरुना मगर र उनीसँगको प्रेम, दिदी केकी अधिकारीलाई भिनाजुले दिने दुःखलगायतका दृश्यले दर्शकको मन जित्छ । पारिवारिक कथामा बनेको निम्नमध्यम बर्गीय आम नेपालीको कथामा सिनेमा बनेको ट्रेलरले देखाएको छ । त्यसैले आम नेपालीले सिनेमा मन पराउनेमा निर्माणपक्षको पूर्ण विश्वास छ ।

सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुँदै छ । हिमाल न्यौपानेले निर्देशन गरेको यो सिनेमाको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । राउतले यसअघि ‘प्रेमगीत ३’ मा मुख्य भूमिका निभाएका थिए भने अहिले निर्देशनतर्फ पाइला चालेका छन् ।आम नेपाली समाजमा गहिरो गरी गुञ्जिरहेको भावनात्मक र सामाजिक यथार्थमा आधारित रहेको सिनेमामा मिरुना मगरसँगै विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको सिनेमामा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । सिनेमाका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।

गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ । अलटाइम ब्लकबस्टर सिनेमा ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो सिनेमा हो । ट्रेलर हेर्नुहोस :

सम्बन्धित समाचारसबै