बक्स अफिसमा ‘मोहर’को आक्रामक व्यापार : वर्ड अफ माउथ बलियो

0 Shares

सिनेसुत्र, बिराटनगर- शुक्रबारदेखि रिलिजमा आएको सिनेमा ‘मोहर’ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । शुक्रबार औसत ओपनिङ गरेको सिनेमाको व्यापार शनिबार भने आक्रामक देखियो । शनिबार बिहानीका शोजहरू औसत देखिए पनि मध्यान्हबाट सिनेमा हेर्ने दर्शकको भीड बढेको थियो ।

काठमाडौं मात्र नभएर मोफसलका हलमा पनि बेलुकीका शोसम्म दर्शकको उच्च चाप देखियो । नेपालगञ्जका हलहरूले हिन्दी सिनेमाको शोज कटौती गरेर ‘मोहर’को शोज थपेका थिए ।

सिनेमाले पोखरा, बुटवल, चितवनमा पनि सुखद व्यापार गरिरहेको छ । शनिबार दिनभर नै सिनेमाका निर्देशक ओम प्रतिक, नायक पल शाह, नायिकाद्वय बेनिशा हमाल र नीति शाह काठमाडौंका हल पुगेका थिए ।काठमाडौंको अष्टनारायण हलमा दर्शकको भिड लागेको थियो । नायक पल शाहले दर्शकहरूलाई अभिवादन गर्दै धन्यवाद दिएका थिए । दर्शकको उच्च साथ र सकारात्मक वर्ड अफ माउथले आफूहरू उत्साहित भएको नायिकाद्वय बेनिशा हमाल र नीति शाहले बताए ।

आज आइतबार पनि सिनेमाले सुखद व्यापार गरिरहेको छ । काठमाडौं र मोफसलका हलमा आजको अकुपेन्सी पनि उच्च छ । सिनेमाका वितरक करण श्रेष्ठले ‘मोहर’ले केही महिनादेखि देखिएको नेपाली सिनेमाको व्यापारीक खडेरीलाई चिरेको बताए ।फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको सिनेमालाई चुम्बन जंग शाहीले लगानी गरेका हुन् । यसैबीच, नायक पल शाह आज पूर्वका विभिन्न हलमा दर्शक भेट्न पुगेका छन् । काठमाडौंका हलमा भने नायिकाद्वय बेनिशा हमाल र नीति शाह पुगिरहेका छन् ।

सिनेमाको वर्ड अफ माउथ बलियो छ । यसकारण, यसले आगामी दिनमा पनि दर्शकको साथ पाउने विश्वास निर्माणपक्षको छ ।

सम्बन्धित समाचारसबै