साउनको पहिलो हप्ताबाट इलामबाट छायांकन सुरु गरिएको सिनेमा ‘मैझारो’ अहिले अन्तिम चरणमा पुगेको छ। निर्देशक विल्सन विक्रम राईको निर्देशनमा तयार भैरहेको यो सिनेमा पूर्वी पहाडका प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको आत्मीयतालाई उजागर गर्ने लक्ष्यसहित निर्माण भइरहेको छ।
यसको छायांकन इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थलहरूमा गरिएको छ। निर्देशक राईका अनुसार दर्शकले यो सिनेमाबाट फरक स्वाद र अनुभूति पाउनेछन्। कथा र पटकथा पनि उनी स्वयंले लेखेका हुन्।
मौलिक प्रेमकथामा आधारित यस सिनेमामा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ।
‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको यस सिनेमामा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहेको छ भने गायनमा राजेश पायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारी लगायतको स्वर सुन्न पाइनेछ। सौरभ लामाले छायांकन गरेका सिनेमाको वितरण आरआर फिल्मले गर्दैछ र डिजिटल अधिकार ओएसआरले लिएको छ।


