सिने सुत्र, बिराटनगर – ‘नमेटिने घाउ’ सिनेमाको पोस्टरमा प्रधानमन्त्रि केपी शर्मा ओली संग पुर्ब प्रधानमन्त्री माधव कुमार नेपाल नदेखिए पछि चौतर्फी जिज्ञासा भइरहेको थियो ।

दुइ दिन अघि निर्देशक, अभिनेता तथा निर्माता रमित ढुङ्गानाको निर्देशनमा बनेको सत्य घटनामा आधारित सिनेमा ‘नमेटिने घाउ’ को सार्वजनिक फस्ट लुक पोस्टरमा प्रधानमन्त्रि केपी शर्मा ओली फिचर गरिएको थियो। आज दुइ दिन पछि निर्मार्ण टिमले दोश्रो पोस्टर पनि सार्वजनिक गरेको छ |

पहिलो पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख भूमिकामा देखिएका छन्, जसमा उनले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन्।
सोही सिनेमामा पुर्ब प्रधानमन्त्री माधव कुमार नेपालको समेत अभिनय रहेको छ | तर फर्स्ट लुक पोस्टरमा नेपाल नदेखिदा भने उनको खोजि मिडिया र दर्शक बाट हुनु स्वाभाविक हो | यति बेला निर्मार्ण टिमले पुर्ब प्रधानमन्त्री माधव कुमार नेपाल सहित सिनेमाका अन्य कलाकार हरु समेत लाइ समेटेर दोश्रो पोस्टर सार्वजनिक गरेको छ । उक्त सिनेमा आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।
सिनेमा ‘नमेटिने घाउ’ एसिड आक्रमणमा परेका पीडितहरूको वास्तविक कथामा आधारित छ। सिनेमामा ३३ जना एसिड आक्रमण पीडितहरूको जीवन सङ्घर्षलाई समेटिएको छ। शिवम् अधिकारीको कथा रहेको उक्त सिनेमाको पटकथा लेखनमा साढे दुई वर्ष लागेको थियो ।
सिनेमामा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईँ, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तिमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतका कलाकारहरूको अभिनय रहेको छ।
सिनेमामा पुराना अनुहार सुरवीर पण्डित र सुनिल कटुवालका साथै मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय देख्न पाइनेछ। रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको उक्त सिनेमामा सांसद द्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ। सिनेमामा नीरज कँडेलको छायाङ्कन, बनिश शाहको सम्पादन, ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ।
यो सिनेमा ‘नमेटिने घाउ’ एसिड पीडितहरूको सङ्घर्ष र साहसको कथालाई दर्शकहरूसामु प्रस्तुत गर्दै नेपाली सिनेमा क्षेत्रमा एक महत्त्वपूर्ण योगदान साबित हुने अपेक्षा गरिएको छ।