यम शेर्पाको ‘मिरमिरे’ छायांकन सकियो : माघ १ मा रिलिज तय

0 Shares

यम शेर्पाको निर्देशनमा तयार भइरहेको सिनेमा ‘मिरमिरे’को छायांकन सकिएको छ । ३५ दिनमा सिनेमाको छायांकन सकिएको हो । काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङमा सिनेमाको छायांकन भएको हो । अब एउटा गीतको छायांकन गर्न बाँकी छ ।

“अब एउटा गीतको छायांकन गर्न बाँकी छ । समय अनुकुल पारेर बाँकी एउटा गीत खिच्नेछौँ” निर्देशक शेर्पाले भने । ‘मिरमिरे’ माघ १ गतेलाई रिलिज हुँदै छ । नायिका सिर्जना निङलेखुको जन्म दिनको अवसर पारेर केही दिनअगाडि निर्माणपक्षले रिलिज डेट घोषणा गरेको थियो ।यार्सा फिल्म्सको प्रस्तुति रहेको सिनेमाको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायत छन् । सिनेमाको बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

‘मिरमिरे’को निर्देशन सँगै स्टोरी पनि यम स्वयंले लेखेका छन् । सिनेमाका छायाकार आलोक शुक्ला हुन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् ।वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यो सिनेमाको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका सिनेमा वितरक रोहित कट्टेल रहेका छन् । यस सिनेमामा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।

सिनेमा ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्स्ले लिएको छ । 

सम्बन्धित समाचारसबै