अमेरिकाबाट निर्देशनमा फर्किएँ फिरोज: सिनेमा ‘कहाँ गयौ तिमी’ को निर्माण घोषणा

0 Shares

सिनेसुत्र, बिराटनगर- सहारा फिल्म्सको प्रस्तुति रहने सिनेमा ‘कहाँ गयौ तिमी…’ को निर्माण घोषणा गरिएको छ । शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर टाइटलसहित यसको औपचारिक घोषणा गरिएको हो ।

फिरोज तिमलसेनाले निर्देशन गर्ने यो सिनेमा लभस्टोरी जनरामा रहनेछ । नामले लभस्टोरीको संकेत गरे पनि निर्माणपक्षले यसबारे विस्तृत जानकारी भने दिएको छैन ।

टाइटल अनाउन्स्मेन्ट पोस्टरमा रहेको कालो बादल, एकलासमा रहेको घर र रूखले मायाको अभाव तथा विछोडमा आधारित कथाको संकेत गरेको छ । त्यस्तै, टाइटलमा रहेको कालो र रातो रंगले पनि शंका, प्रेम, आशा, विछोड र मिलनको भाव व्यक्त गर्ने अनुमान गर्न सकिन्छ ।सिनेमाको कथा जीवन आचार्यले लेख्नेछन् भने, संगीत प्रकाश नेपालीको रहनेछ । फिरोज तिमलसेना टेलिभिजन होस्ट हुँदै निर्देशनमा प्रवेश गरेका सर्जक हुन् । उनले नेपाल आइडल सिजन–१ मा रियालिटी प्रोडुसर तथा एपिसोड डिरेक्टरको रूपमा काम गरेका थिए ।

त्यस्तै, भ्वाइस अफ नेपाल का फाउन्डर, क्रिएटिभ हेड तथा चिफ एडीलको अनुभव पनि उनीसँग छ । अभिनेता समेत रहेका उनले ‘दर्पण छाया–२’ मा अभिनय गरेका थिए । फिरोज गायक समेत हुन् ।

इन्जिनियरिङ पेसा अपनाइरहेका उनी पछिल्लो समय अमेरिकामा बस्दै आएका छन् । अब भने उनी निर्देशनमार्फत सिनेमा क्षेत्रमा प्रवेश गर्न लागेका हुन् । ‘कहाँ गयौ तिमी…’ मा को-को कलाकार रहनेछन् भन्नेबारे भने निर्माणपक्षले खुलाएको छैन ।निर्माता, छायांकन, प्रदर्शन मिति तथा अन्य प्राविधिक टिमबारे जानकारी चाँडै सार्वजनिक गर्ने निर्देशक फिरोजले जनाएका छन् ।

यो सिनेमा घोषणा गर्दै उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्—
“शब्द र भावना भनेको घरमा काम लाग्छ भनेर जतन गरी राखेको सियो जस्तो रहेछ, चाहिने बेला कहिले फेला पर्दैन । आज सिनेमा निर्देशनमार्फत नयाँ यात्राको सुरुवात गर्दा खुशी र जिम्मेवारी दुवै महसुस भएको छ । सम्पूर्ण टिमप्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनमा सिनेमा बारे थप जानकारी दिने प्रतिज्ञा गर्दछु ।”

सम्बन्धित समाचारसबै