‘बलिदान’ टिजरले २४ घण्टामा १ मिलियन भ्युज पायो: सिनेमा प्रतीक्षाको चरम उत्कर्षमा

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा उद्योगमै प्रतीक्षित सिनेमा ‘बलिदान’ को टिजरले युट्युबमा धमाका मच्चाएको छ। टिजर सार्वजनिक भएको २४ घण्टाभित्रै यसले १ मिलियनभन्दा बढी भ्युज हासिल गरेको छ। यससँगै नेपाली सिनेमा इतिहासमा छोटो समयमा यति ठूलो डिजिटल प्रतिक्रिया पाएको थोरै टिजरमध्ये ‘बलिदान’ पनि एक बनेको छ।

सामान्यतया सिनेमाका अन्य सामग्रीहरू गीत, ट्रेलर भन्दा टिजरको डिजिटल उपस्थिति कम हुने हुँदा, ‘बलिदान’ टिजरले प्राप्त गरेको भ्युजलाई विशेष मानिएको छ।सिनेमाका प्रमुख कलाकार समीर भट्टको स्टारडम र निर्देशक सन्तोष सेनको सिनेमाटिक प्रस्तुति यस उपलब्धिको मुख्य आधार मानिएको छ। देशभक्ति, विद्रोह र क्रोध मिसिएको संवादसहितको टिजरले दर्शकलाई सशक्त महसुस गराएको छ।

टिजरमा समीर भट्टलाई ‘एक्सन किङ’ को परिचय दिइँदै देखाइएको छ। उनको दमदार संवाद  “यो आमा न लाचार छ, न त यो आमाको कोख नै खाली छ। यो आमाले छोरा मात्र होइन, योद्धा पनि जन्माएको छ” सामाजिक सञ्जालमा ट्रेन्डिङ बनेको छ। यस संवादले नेपाली युवापुस्तामा ऊर्जा र गर्व जगाएको व्यापक प्रतिक्रिया आएको छ।सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा र हेमन्त बुढाथोकीलगायतका कलाकारको अभिनयले पनि टिजरलाई थप बल दिएको छ। यसअघि समीर भट्टको जन्मदिनमा सार्वजनिक प्रि-टिजर नेपालसहित विदेशी मुलुकमा युट्युब ट्रेन्डिङमा आएको थियो।

अहिलेको टिजरले त्यो अपेक्षालाई अझै माथि पुर्‍याउँदै ‘बलिदान’ प्रतीक्षालाई चरम उत्कर्षमा पुर्‍याएको संकेत गरेको छ। सिनेमालाई आसुसेन फिल्म्स प्रा. लि. को ब्यानरमा निर्माण गरिएको हो। निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका यस सिनेमालाई बडादसैँको फूलपातीको दिन प्रदर्शनमा ल्याउने तयारी गरिएको छ।

सम्बन्धित समाचारसबै